काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत शुक्रबार इतिहासकै सर्वाधिक उच्च बिन्दुमा पुगेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत शुक्रबार इतिहासकै उच्च प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । चाडवाड र विहेको सिजनका कारण बजारमा सुनको माग बढेको व्यवसायीहरु बताउँछन् ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको छ ।
असोज पहिलो सातादेखि सुनको भाउ लगातार घटेर प्रतितोला १ लाख ६ हजार रुपैयाँसम्म झरेको थियो । जुन गत वैशाख यताकै सस्तो हो । तर, असोज तेस्रो साताबाट फेरि उकालो लागेको सुनको मूल्यले अहिले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९८४.५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।