काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा पहिलो कारोबार दिनमै नेगेटिभ सर्किट लागेको छ । आइतबार (आज)देखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य पहिलो दिनमै १० प्रतिशतले घटेको हो ।
प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५ रुपैयाँले घटेर ३१५ रुपैयाँमा झरेको छ । खरिदकर्ता शून्यप्रायः हुँदा अधिक सप्लाई आएपछि कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
बिहान साढे ११ बजेसम्म कम्पनीको ३ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ भने खरिदकर्ता शून्य छन् । अर्थात् १ कित्ता सेयर खरिदका लागि पनि अर्डर राखिएको छैन । यस बेलासम्म कम्पनीको जम्मा १ हजार ८५५ कित्ता सेयर खरिद बिक्री भएको छ ।
कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० मा १३७.५८ रुपैयाँ प्रिमियम थपेर)दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
घट्दो मूल्यमा बेच्दा पनि आइपीओ किनेको मूल्यभन्दा प्रतिकित्ता ७८ रुपैयाँ फाइदा हुने भएपछि लगानीकर्ता पहिलो दिनमै सेयर बेच्न हतारिएका हुन् । यद्यपि, खरिदकर्ता नदेखिएकाले बिक्रीमा राखिएको सेयर बिक्री हुने संकेत भने देखिँदैन ।
नेप्सेमा कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ दरको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ४० प्रतिशत अर्थात् १ करोड २३ लाख २०० कित्ता छ ।