नोट प्रयोगमा खोट : वर्षेनी अर्बौंको नोट बन्छन् झुत्रा, छाप्न ठूलो धनराखी खर्च

काठमाडौं । दशैंमा नयाँ नोटको विशेष महत्व छ । टीका लगाएपछि दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन रहेको छ । दशैंलाई नै लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि वर्षेनी अर्बौं रुपैयाँ बजारमा पठाउने गरेको छ । दशैंका लागि नयाँ नोट साट्न राष्ट्र सर्वसाधरणको ठूलो लाइन समेत लाग्ने गरेको छ ।

तर, विशोष महत्व रहेको नोटको जतन गर्ने गरेको भने पाइँदैन । अधिकांश मानिसले नयाँ नोट पाउँदा आनन्द मान्ने भए पनि त्यसको सुरक्षा गरेको भने देखिँदैन । दक्षिणाको रूपमा प्रयोग गरिने नोटहरूमा जथाभावी रङ पोत्ने गरेको देखिन्छ । त्यस्तै, मानिसले खल्तीमा बोक्ने नोट पनि जथाभावी पट्याएर बोक्ने गरेको पाइन्छ । यस्तो गर्दा नोट छिट्टै पुरानो हुने गर्छ र छपाइका लागि फेरि अर्बौं रुपैयाँ खर्चुनुपर्ने बाध्यता छ ।

नेपाल राष्ट्र बैंकले वर्षेनी जति नयाँ नोट बजारमा पठाउँछ त्योभन्दा बढी झुत्रा नोट संकलन गर्ने गरेको छ । लामो समयसम्म चलनचल्तीमा रहेका नोटहरू मैला तथा झुत्रा भएपछि केन्द्रीय बैंकले संकलन गरेर जलाउने थियो । तर, गत वर्षदेखि भने काम नलाग्ने भएका झुत्रा नोटलाई मेसिनमा राखेर ब्रिकेट बनाएर बिक्री गर्दै आएको छ ।

विशेषगरी नोटमा गरिने केरमेट, चाडपर्वमा रङ पोतिँदा तथा पानीमा भिज्दा नयाँ नोट फोहोर तथा झुत्रा हुने गर्छन् । सबैभन्दा धेरै यसको हिस्सा भने दशैंतिहार जस्ता चाडपर्वमा हुने् गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल अर्ब रुपैयाँ बढीका नोट वर्षेनी झुत्रा भएर ब्रिकेट बनाउने गरिएको बताउँछन् । ‘एक वर्षका नयाँ नोट कति झुत्रा हुन्छन् भन्ने एकीन तथ्यांक छैन । तर, अर्ब रुपैयाँ बढी लागत लगाएर छपाइएका नोटको ब्रिकेट बनाइन्छ,’ उनले भने ।

राष्ट्र बैंकले देशका विभिन्न कार्यालयहरूमा मेसिन जडान गरेको छ । त्यसमै राखेर झुत्रा भएका अर्ब रुपैयाँ बढीका नोटको ब्रिकेट बनाएर बेच्ने गरेको उनले बताए । राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा मात्रै ४ अर्ब ४५ करोड रूपैयाँ बराबरका पुराना नोट जलाएको थियो ।

राष्ट्र बैंकले दुई/तीन वर्षको अन्तरमा नयाँ नोट छाप्ने गरे पनि हरेक वर्ष दशैंको समयमा नयाँ नोट बजारमा पठाउने गरेको छ । यस वर्ष करिब दश अर्ब रुपैयाँ राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाएको जनाएको छ । गत साउनसम्म बजारमा ५ खर्ब १४ अर्ब रूपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका थिए ।

एक पटक बजारमा चलनचल्तीमा ल्याएका नोटको आयु तीनदेखि पाँच वर्षसम्म हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ५, १०, २० रुपैयाँका धेरै प्रयोगमा आउने साना नोट तीन वर्षसम्म टिक्ने र ५०० र १ हजारका नोटहरूको आयु ५ वर्षसम्म टिक्ने गरेको उनीहरूको भनाइ छ ।

नोटमा केरमेट गरे वा बिगारेमा तीन महिनासम्म जेल र ५ हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । राष्ट्र बैंकले नोटमा केरमेट नगर्न तथा रङ नलगाउन भन्दै सचेत गराउँदै आएको छ । तर, चाडपर्वमा भने सबैभन्दा धेरै नोटमा क्षति हुने गरेको छ ।

नोट छाप्न वर्षेनी अर्बौं खर्च

नयाँ नोट छाप्न नेपाल राष्ट्र बैंकले वर्षेनी अर्बौं खर्च गर्दै आएको छ । बजारमा पठाइएका नोट पुराना र झुत्रा भएपछि राष्ट्र बैंकले नयाँ नोट छाप्छ । नयाँ नोट छपाइ खर्च नै वर्षनी अर्ब बढी हुने राष्ट्र बैंकले जनाएको छ ।

‘२/३ वर्षको अवधिमा राष्ट्र बैंकले नयाँ नोट छाप्ने गरेको छ । यस्ता नोटको लागत औषतमा एक वर्षमा अर्ब रुपैयाँ बढी खर्च हुन्छ,’ पोखरेलले भने । नयाँ नोटको छपाइ महंगो पर्दै जाने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । खासगरी नोटको सुरक्षा विशेषता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि लगायतले छपाइ लागत निर्धारण गर्ने उनले बताए ।

‘नोटको लागत धेरै कुराहरूले निर्धारण गर्छ । खासगरी सेक्युरिटी फिचर कस्तो बनाउने भन्नेमा भरपर्छ । अन्तर्राष्ट्रिय बजारमा आउने मल्यवृद्धिको समयमा छपाइ पर्यो भने नोट छपाइको लागत महंगो पर्छ,’ उनी भन्छन् ।

एउटा नोट छाप्न कति लाग्छ खर्च ?

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अनुसार प्रतिनोट छपाइ लागत १ रुपैयाँदेखि ५ रुपैयाँसम्म खर्च हुने गरेको छ । नोट छपाइको बिडिङमा हुने प्रतिस्पर्धा, नोटमा हुने सेक्युरिटी फिचर लगायत कारणले छपाइ खर्च निर्धारण हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार अघिल्ला वर्षहरूमा १ हजार दरका नोट छाप्न प्रतिनोट औषतमा ३.३७ रुपैयाँ खर्च भएको थियो । यस्तै, ५०० दरको नोट छाप्न ४.६८ रुपैयाँ, १०० रुपैयाँको नोट छाप्न २.९९ रुपैयाँ, ५० रुपैयाँको छाप्न २.६७ रुपैयाँ, २० रुपैयाँको १.७३ रुपैयाँ, १० रुपैयाँको नोट छाप्न १.४० रुपैयाँ लाग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

डिजिटल कारोबारले घटाउँछ क्षति

नगदरहित कारोबारले नोटमा हुने क्षति घटाउने जानकारहरू बताउँछन् । उनीहरूका अनुसार यस्तो कारोबार बढ्दै गए नोट छपाइमा बाहिरिने रकम जोगिन्छ ।

राष्ट्र बैंकले विदेशमा नोट छपाउँदै आएको छ । जसको कारण नयाँ नोट छपाइबापत अर्बौ रुपैयाँ विदेशिने गरेको छ । पछिल्लो समय क्यूआर कोड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस जस्ता भुक्तानी माध्यम मार्फत कारोबार बढ्दो क्रममा रहेको छ । यसले नगद रहित वित्तीय प्रणालीतिर मानिसको जीवनशैली लैजाने बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल डिजिटल कारोबारतर्फ फड्को मार्न अझै समय लाग्ने बताउँछन् । ‘डिजिटल कारोबार राम्रो हो, राष्ट्र बैंकले त्यसलाई नै फोकस गरिरहेको हो,’ उनले भनेर्, तर, अझै इन्टरनेट नपुगेका ठाउँहरू र डिजिटल ज्ञान नभएको जनसंख्या धेरै छ । त्यसैले पूर्णरूपमा बैंकिङ कारोबार डिजिटलाइज हुन समय लाग्छ ।’

विश्वका कतिपय देशहरूले डिजिटल करेन्सी नै प्रयोगमा ल्याएसकेका छन् । भारतको केन्द्रीय बैंकले समेत परीक्षणका लागि कारोबारमा ल्याएको छ भने नेपालले समेत डिजिटल करेन्सी नै जारी गर्न छुट्टै युनिट बनाएर काम गरिरहेको छ ।

दशैंमा प्रदर्शन भएका चलचित्रले पाए दर्शकको साथ Read Previous

दशैंमा प्रदर्शन भएका चलचित्रले पाए दर्शकको साथ

दशैंको दक्षिणाले जीवन बीमा, कुन कम्पनीमा गर्दा धेरै बोनस पाइन्छ ? Read Next

दशैंको दक्षिणाले जीवन बीमा, कुन कम्पनीमा गर्दा धेरै बोनस पाइन्छ ?