काठमाडौं । सूचना प्रविधिको विकासले मानिसको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ । भौतिक वस्तु र उपस्थितिमा हुने धेरै जसो काम/कारोबार अहिले अनलाइन र पेपरलेस भएका छन् । इन्टरनेट र भर्चुअल दुनियाँले मानिसको दैनिकी मात्रै होइन, व्यवहार र निर्भरता पनि फरक बनाइदिएको छ ।
२१ औं शताब्दी यता जारी डिजिटल विकासको रफ्तारको गन्तव्य कहाँसम्म हो भन्ने कसैलाई थाहा छैन । तर, विश्व डिजिटलाइजेसनको यो क्रम यत्तिमै रोकिन्न भन्नेमा सबैजसो मानिस पक्का छन् ।
वस्तु विनिमयदेखि सुरू भएकोे आर्थिक कारोबार धातुका मुद्रा र कागजी नोट हुँदै अहिलेको भर्चुअल कारोबारमा आइपुगेको छ । मुद्रा कारोबार नगदरहित हुने बाटोमा अग्रसर छ भने विकसित देशहरूले भर्चुअल नै बनाइसकेका छन् । केही देशले डिजिटल करेन्सी समेत प्रयोगमा ल्याइसकेका छन् ।
नेपालले पनि नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा प्रचलनमा ल्याउन अनुसन्धान गरिरहेको छ भने अन्य कारोबार डिजिटल माध्यमबाट हुनेक्रम बढ्दो छ ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर, फोनपे, कनेक्टआइपीएस जस्ता माध्यमबाट उपभोग्य सामान खरिददेखि विभिन्न चाडवार्डमा दक्षिणा समेत भुक्तानी गर्न थालिएको छ ।
यसले कारोबारलाई सुरक्षित, छिटो र सहज बनाउँदा मानिसको जीवनशैली सोही अनुसार फेरिएको छ । सामान खरिददेखि अन्य कार्यहरूमा भुक्तानी तथा कारोबारका लागि जति सजिलो र उपयुक्त महशुस गरिएको छ । दक्षिणामा भने डिजिटल कारोबारले त्यत्ति मानिसलाई आकर्षण गर्न सकेको देखिँदैन ।
चाडपर्व वा धार्मिक तथा पारिवारिक हिसाबले विशेष मानिने दिनमा आफन्तहरूले दक्षिणा दिने गरेका छन् । बैंकिङ प्रणालीमै आएको परिवर्तनसँगै सुरू भएको डिजिटल दक्षिणाले सोही अनुसारको व्यापकता भने पाउन सकेको छैन ।
सरकारको खर्च र नोटमा पुग्ने क्षतिको हिसाबले डिजिटल दक्षिणले सकारात्मक योगदान नै पुर्याउने भए पनि आममानिसमा त्यो बानि भने बस्न सकेको छैन । मूलतः चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यमा बढी दक्षिणको प्रयोग हुनेभएकाले त्यहाँ नोटमा रंग पोतिएर, पानि क्षति हुने सम्भावना बढी हुन्छ । यसले नयाँ नोटलाई केही समयमै झुत्रो बनाइदिन्छ ।
नयाँ नोट छपाइमा सरकारले वर्षेनी करोडौं खर्च गर्छ ? दक्षिणको रूपमा प्रयोग हुने यस्ता नोटहरूमा पुग्ने क्षति जोगाउने हो भने पनि विकल्प सावधानी अपनाउने कि डिजिटल दक्षिणा नै हो । तर, यो कति सफल भयो वा असफल त्यो भने दशैंतिहार जस्ता चार्डहरूमा हुने नयाँ नोटको मागले नै प्रष्ट देखाउँछ ।
सफल कि असफल ?
इन्टरनेट र डिजिटल बैंकिङको सुरूआत भएको धेरै नभएकोले डिजिटल दक्षिणालाई असफल भन्न नहुने बैंकरहरू बताउँछन् ।नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल डिजिटल दक्षिणा सुरूआती चरणमै रहेकाले यतातिर मानिस आकर्षित हुन थालेको बताउँछन् ।
‘डिजिटल कारोबारलाई राष्ट्र बैंकले प्रोत्साहन गरिरहेको छ । अहिले नै डिजिटल दक्षिणाको प्रचलन सबैतिर हुन्छ भन्ने छैन,’ उनले भने, ‘तर सबैतिर विस्तारै यस्तो संस्कृति बढ्दै गएको छ । इन्टरनेटको पहुँच सबैतिर हुनुपर्छ, डिजिटल कारोबारको लागि अझै समय लाग्ने देखिन्छ ।’
डिजिटल भुक्तानीलाई बढाएरै नगद कारोबार न्यून गर्न सकिने उनले बताए । नेपालमा क्यूआरबाट भुक्तानी सुरू भएको दशक नहुँदै नागरिकको आधारभूत आवश्यकता बनेको छ । अहिले तरकारी पसलदेखि शपिङ मलसम्म क्यूआरबाटै भुक्तानी गर्न थालिएको छ । यसले नगद रहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै मानिसको जीवन शैली पनि सोही अनुसार रुपान्तरण गरेको देखिन्छ ।
डिजिटल कारोबारकै कारण अचेल बजारमा चलनचल्तीका नोटहरूको संख्या पनि घट्न थालेको छ । पूर्णरूपमा वित्तीय कारोबार डिजिटल माध्यमबाट हुन थालेपछि यसको महत्व र प्रयोग बढ्दै जाने बैंकरहरू बताउँछन् ।