काठमाडौं । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले २ दिनमा १ करोड रुपैयाँ बराबरको खसीबोका र च्याङग्रा बिक्री गरेको छ । कम्पनीका अनुसार दुई दिनमा ४०० बढी खसीबोका बिक्री गरिएको हो ।
खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले आजसम्ममा २ हजार १३ वटा खसीबोका तथा च्याङग्रा ल्याइसकेको बताइन् ।
उनले १ हजार ६५९ वटा खसीबोका काठमाडौं ल्याइएको बताइन् । सो मध्ये ४०० हाराहारीमा खसीबोका बिक्री भइसकेको उनले बताइन् । हालसम्म ३५४ वटा च्याङग्रा ल्याइएको छ । सो मध्ये पहिलो दिनमा २७ वटा च्याङग्रा बिक्री भएको थियो भने दोस्रो दिनमा ४४ वटा च्याङग्रा बिक्री भएको थियो ।
‘आजबिहानसम्म २ हजार १३ खसीबोका र च्याङग्रा आएका छन्, ४०० बढी खसीबोका बिक्री भइसकेको छ, ७१ वटा च्याङग्रा बिक्री भइसकेको छ,’ सुवेदीले चाणक्य पोष्टसँग भनिन्, झण्डै १ करोडको खसीबोका बिक्री भएको छ ।’
कम्पनीले च्याङग्रा १ हजार २६० रुपैयाँमा १० रुपैयाँ छुट दिइ १ हजार २५० रुपैयाँमा बिक्री गरिरहेको छ । खसीबोका ६८० रुपैयाँ प्रतिकेजीमा १० रुपैयाँ छुटसहित ६७० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेको छ ।
दसैंका लागि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले ८ करोड रुपैयाँ लगानीमा २ हजार खसीबोका र १ हजार च्याङग्रा ल्याउन लागेको हो । उनका अनुसार खसीबोका खरिदका लागि ३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बोका खरिदका लागि ४ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ ।
खाद्य कम्पनीले जिउँदो खसीबोकामा १० रुपैयाँ छुट दिएको छ ।