काठमाडौं । गत आर्थिक वर्षसम्म चुनौती सामना गरिरहेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले मजबुत अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)को तथ्यांकले विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा सुधार आउँदा बाह्य क्षेत्र निकै मजबुत अवस्थामा पुगेको देखाएको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा संचिति हालसम्मकै धेरै १५ खर्ब ९८ अर्ब पुगेको छ । त्यस्तै, अमेरिकी डलर संचिति १२ अर्ब १ करोड पुगेको छ । यो पछिल्लो साढे २ वर्ष यताकै धेरै हो । यसले १२.६ महिनाको वस्तु र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।
रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, पर्यटक आवागमन बढ्नु र व्यपार घाटामा गिरावट आउँदा विदेशी मुद्रा संचिति थपिँदै गएको हो । अर्थतन्त्रको बाह्य स्थिति देखाउने अन्य सूचकहरू पनि सकारात्मक रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु वर्षको भदौ मसान्तसम्म चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।
शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो । यी सूचकहरूले अर्थतन्त्रको बाह्य क्षेत्रको चुनौती टरेको देखाउँछ ।
पछिल्लो १ वर्ष यता बाह्य क्षेत्रका हरेक सूचक महिनैपिच्छे लगातार सुधार आइरहेको छ । तर, आन्तरिक शिथिलता भने कायमै रहेको छ भने तत्कालै सुधार भइहाल्ने संकेत पनि देखिएको छैन ।
अर्थशास्त्री रघुवीर विष्ट रेमिट्यान्स वृद्धि र आयातमा गिरावट आउने बितिकै अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिने गरेको बताउँछन् । ‘अहिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार छ । आयातमा गिरावट र रेमिट्यान्स बढेका कारण बाह्य दबाब कम भएको हो,’ उनले भने ।
कोभिडपछिका वर्षहरूमा अनियन्त्रित कर्जा विस्तार हुँदा ढुकुटी रित्तिने अवस्था देखिएपछि राष्ट्र बैंकले बाह्य स्थायित्व कायम गर्ने नीति लिएको थियो । गत वर्षको दश महिनासम्म वस्तु आयातमा समेत प्रतिबन्ध लगाउँदा विदेशी मुद्रा संचिति र भुक्तानी असन्तुलनको समस्या टर्दै गएको छ ।
राष्ट्र बैंकले मुद्रा संचिति कायम गर्न कर्जा प्रवाहमा लगाएको अंकूश, ब्याजदर बढाउने नीति र आयातमा कडाइको असर आन्तरिक अर्थतन्त्रमा भने गहिरिएर बसेको छ । नियामक निकायकै नीतिका कारण बाह्य क्षेत्रको चुनौती हटे पनि अर्थतन्त्रको आन्तरिक बजार भने कमजोर भएर उठ्न सकेको छैन ।
सूचकले देखाउँछ आन्तरिक शिथिलता
बाह्य क्षेत्रमा दबाब हट्दा अर्थतन्त्रका आन्तरिक सूचकहरूले शिथिलता कायमै रहेको देखाउँछ । राष्ट्र बैंकको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीती नियन्त्रण बाहिर छ । यो आर्थिक वर्षको भदौ मसान्तसम्म ८.१९ प्रतिशत मुद्रास्फीती पुगेको छ । यो पछिल्लो दश महिनायताकै उच्च हो ।
चालु वर्षमा ६.५ प्रतिशतभित्र मूल्यवृद्धि राख्ने मौद्रिक लक्ष्य तय गरेको राष्ट्र बैंकले डेढ वर्षदेखि नियन्त्रणमा राख्न सकेको छैन ।
बजारमा वस्तुको भाउ निकै महंगिदा माग र आपूर्ति नै शिथिल भएको छ । जसको असर उत्पादनदेखि वितरणसम्म परेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ०.७ प्रतिशतले बढेको छ भने निक्षेप संकलन ०.१ प्रतिशतले घटेको छ । यसले नयाँ लगानी विस्तार नभएको प्रस्ट देखाउँछ । राष्ट्र बैंकले चालु वर्षमा ११.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ ।
तर, पहिलो दुई महिनामा लक्ष्यको एक प्रतिशत पनि लगानी नहुँदा समग्र अर्थतन्त्रमै समस्या देखिएको छ । यसले आर्थिक वृद्धि समेत प्रभावित बनाउन बल पुर्याएको छ ।
दुई महिनामा सरकारले कुल खर्च १ खर्ब ३१ अर्ब १४ करोड गरेको भने राजस्व संकलन राजस्व १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ गरेको छ । सरकारको आम्दानी र खर्च बीचको असन्तुलन यस वर्ष पनि बढ्दो रुपमा रहने तथ्यांकले देखाउँछ ।
यसले सार्वजनिक वित्त र सरकारको खर्च गर्न सक्ने क्षमता समेत कमजोर मात्रै नभएर विकास निर्माणका कामहरू पनि अघि बढ्न नसकेको देखाउँछ ।
अर्थविद् विष्ट सरकारले विकास खर्च गर्न नसकेको तथा उत्पादनमूलक उद्योगमा शिथिलता आउँदा रोजगारी सिर्जन गर्न नसकेको धारणा राख्छन् । उनी भन्छन्, ‘सरकारले पूँजीगत खर्च बढाउनै सकेको छैन । सुस्ताएको उद्योगलाई रोजगारी सिर्जना गर्ने गरेर लगानी बढाउन सकेको छैन ।’
किन देखिँदैन सुधार ?
आन्तरिक अर्थतन्त्रमा देखिएको यस्तो शिथिलताले निरन्तरता पाउनुको विभिन्न कारणहरू रहेको जानकारहरू बताउँछन् । नीति निर्माणमा राजनीतिक नेतृत्वको वेवास्ता, मौद्रिक नीति र अर्थनीति बीच तादम्यता नहुनु, उपभोग गर्ने जनशक्ति विदेशीनु, अनौपचारिक अर्थतन्त्र बढेर त्यो रकम प्रणालीमा नआउानु जस्ता कारणले आन्तरिक अर्थतन्त्रको शिथिलताले निरन्तरता पाएको विष्टले बताए ।
‘सामान्यभन्दा बढी खर्च गर्ने युवा जनशक्ति विदेशिरहेको छ । माग नबढ्दा बजार त्यसको कारणले तरंगित भएन् । रोजगारी बढेन्,’ उनले भने, ‘अर्थतन्त्रमा सेतो धनभन्दा कालो धेरै भयो । तर, त्यो अनौपचारिक अर्थतन्त्रको रकम पनि बजारमा आएन । अर्को भनेको नीति निर्माताहरूको प्राथमिकतामा अर्थतन्त्र सुधारको विषय परेन् ।’
राजनीतिक नेतृत्वमा आर्थिकभन्दा राजनीतिक विषयले बढी स्थान पाउने गरेको र सरकारी नीतिहरू बीच नै मेल नभएका कारण यस्तो स्थिति देखिएको उनले बताए ।
दशैंको समयमा समेत मागले बजार तरंगित बनाउन नसकेको उनको धारणा छ । ‘दशैंको समयमा शिथिलता चलायमान हुने अपेक्षा थियो । तर त्यसअनुसार माग पक्षबाट तरंगित बनाएको देखिएन्’ उनले भने ।