काठमाडौं । विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)को तथ्यांक अनुसार कुल विदेशी मुद्रा संचिति १५ खर्ब ९८ अर्ब ९०करोड रुपैयाँ पुगेको छ ।
यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । यसअघि गत असारमा सबैभन्दा धेरै गत साउनमा १५ अर्ब ३९ करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।
विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा संचिति ३.९ प्रतिशतले बढेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १४ खर्ब ६ अर्ब र बैंक तथा वित्तीय संस्थासँग १९२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
भदौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
डलर संचिति १२ अर्ब नाघ्यो
विदेशी मुद्रासँगै अमेरिकी डलर संचितिमा लगातार सुधार आएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचितिमा सुधार आएको हो ।
गत आवको असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट १६ करोड डलर थपिएको ।
राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म डलर संचिति १२अर्ब १ करोड पुगेको छ । यो पछिल्लो ३० महिना यताकै धेरै हो । यसअघि सन् २०२१ को अप्रिलमा ११ अर्ब ९६ करोड डलर संचिति थियो ।
गत वर्ष असोजदेखि लगातार एघारौं महिना डलर संचितिमा सुधार आएको हो । राष्ट्रिय ढुकुटीमा असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड, असारमा ४३ करोड र साउनमा १२ करोड डलर थपिएको थियो ।
सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।