कात्तिकमा १४ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाएका हुन् ।

असोजका लागि १४ दर्जन बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने २ बैंकले बढाएका छन् । ४ बैंकले भने असोजकै ब्याजदर यथावत राखेका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूले अधिकतम् १.८३ प्रतिशत विन्दुसम्म ब्याजदर घटाएका छन् ।

कात्तिकमा एनएमबी र नेपाल एसबीआई बैंक्ले मुद्दतीको ब्याजदर बढाएका छन् भने लक्ष्मी सनराइज, सिद्धार्थ, माछापुच्छे र राष्ट्रिय वाणिज्य बैंकले असोजकै यथावत राखेका छन् । यी बाहेक अरु १४ बैंकले ब्याजदर घटाएका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशत ब्याजदर घटाउन/बढाउन पाउँछन् । सोही अनुसार बैंकहरूले ब्याजदर घटाएका हुन् ।

कात्तिकमा बैंकहरूले औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३१९ प्रतिशत बिन्दुले घटाएका छन् । असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर १०.२८३ प्रतिशत रहेकोमा कात्तिकमा घटेर ९.९६४ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर असोजमा ८.१८९ प्रतिशत रहेकोमा कात्तिकमा ७.८५ प्रतिशतमा झरेको छ ।

कात्तिकमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.७८ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले ११.००३ प्रतिशत र न्यूनतम दिने ९.२२ प्रतिशत ब्याजदर दिने भएका छन् ।

कुनको कति ?

कात्तिकमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । असोजको तुलनामा कात्तिकमा एभरेष्टले १.८३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर कात्तिकमा ९.२२४ प्रतिशतमा झारेको छ ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

कात्तिकमा ३ बैंकले सबैभन्दा धेरै ११.००३ ब्याजदर दिने भएका छन् । एनएमबी, एनआइसी एशिया र हिमालयकाले व्यक्तिगत मुद्दतीमा ११.००३ प्रतिशत ब्याजदर दिने भएका हुन् ।

त्यस्तै, नेपाल एसबीआइ, इन्भेष्टमेन्ट मेगा, कुमारी, नबिल, ग्लोबल आइएमई र लक्ष्मी सनराइजले १० प्रतिशत ब्याजदर दिने भएका छन् ।

कात्तिकमा सबैभन्दा कम ब्याजदर विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ९.२२ प्रतिशत ब्याजदर दिने भएको छ । त्यस्तै, एभरेष्ट, प्रभु, सानिमा, प्राइम कर्मशियल र नेपाल बैंकले पनि ९.२२४ प्रतिशत ब्याज दिने भएका छन् ।

 

सरकारी कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै, प्रतिकिलो भाउ ६८० रुपैयाँ Read Previous

सरकारी कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै, प्रतिकिलो भाउ ६८० रुपैयाँ

रूवाण्डाको वाणिज्यदूतमा प्रज्वलजंग पाण्डे नियुक्त Read Next

रूवाण्डाको वाणिज्यदूतमा प्रज्वलजंग पाण्डे नियुक्त