काठमाडौं । चाडपर्व सुरू भएसँगै हवाई भाडा अचाक्ली महँगिएको छ । दशैंतिहारको लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै हवाई भाडा आकाशिएको हो ।
वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार अहिले आन्तरिक गन्तव्यकै हवाई भाडा कतिपय अन्तर्राष्ट्रिय उडान भन्दा महंगो छ ।
अहिले काठमाडौंबाट बाहिरिने अधिकांश सडक विस्तारका क्रममा रहेकाले पनि हवाई यात्रुको संख्या बढेको छ । यात्रुको चाप बढे पनि सोही अनुपातमा उडान थप्न नसक्दा हवाई टिकट पाउनै मुस्किल छ । पाइहाले पनि अधिकतम मूल्यमा मात्रै किन्नुपर्ने बाध्यता छ । अहिले अधिकांश गन्तव्यहरूको हवाई टिकट बुकिङ भइसकेको एयरलाइन्स कम्पनीहरूले बताएका छन् ।
वायुसेवा कम्पनीहरूले न्यूनतम र अधिकतम् भाडादर कायम गरेका छन् । न्यूनतम भाडाका सबै टिकट बुकिङ भइसकेको छन् भने महंगो टिकट पनि यात्रुहरूले पाउने अवस्था छैन ।
माग र आपूर्तिले बजारमा मूल्य निर्धारण गर्ने भएकाले अहिले यात्रुको चाप धेरै रहेकाले भाडा पनि सोही अनुसार महंगिएको हो । सोही अनुसार कम्पनीहरूले सरकारले तोकेको भाडाको अधिकतम सीमा कायम गरेका हुन् । अहिले उपत्यकाबाट बाहिरिने यात्रुको संख्या धेरै छ भने बाहिरबाट आउनेको संख्या न्यून छ ।
यसकारण काठमाडौंबाट बाहिरीनेभन्दा अन्य ठाउँबाट उपत्यका आउने भाडा सस्तो छ । वायुसेवा कम्पनीका अनुसार आम्दानीको ६० प्रतिशतभन्दा बढी हवाई इन्धनमै खर्च हुन्छ । लागत धेरै भएकाले माग बढी भएको अवधिमा पनि कम्पनीले न्यून शुल्कमा उडान गर्न नसक्ने उनीहरू बताउँछन् ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण अहिले उपत्यकाबाट बाहिरिने यात्रुको चाप रहेको बताउँछन् । ‘अहिले काठमाडौंबाट बाहिरिनेको चाप निकै बढेको छ । त्यसकारण न्यूनतम मूल्यका टिकट पहिले नै बुकिङ भइसकेकाले पाउन गाह्रो छ,’ उनले भने ।
कतिपय आन्त्रिक गन्तव्यहरूको टिकट नै बुकिङ भइसकेका छन् । जसको काररण नयाँ टिकट पाउने अवस्था छैन । सडक यातायातमा पनि सोही समस्या देखिएको छ ।
| गन्तव्य | न्यूनतम भाडा (रू.) | अधिकतम भाडा (रू.) |
| काठमाडौं-धनगढी | ११ हजार | १७ हजार १८६ |
| काठमाडौं-नेपालगञ्ज | ८ हजार ५०१ | १३ हजार ३९४ |
| काठमाडौं-सुर्खेत | ११ हजार ७०१ | १४ हजार १६८ |
| काठमाडौं-भैरहवा | ६ हजार ३०१ | ८ हजार ६४३ |
| काठमाडौं-भरतपुर | ४ हजार ७३९ | |
| काठमाडौं-जनकपुर | ४ हजार ५०० | ५ हजार ५८६ |
| काठमाडौं-पोखरा | ४ हजार ४०० | ६ हजार ७७८ |
| काठमाडौं- सिमरा | ३ हजार ६६० | ४ हजार ६१ |
| काठमाडौं-विराटनगर | ७ हजार २०० | ९ हजार ९९९ |
| काठमाडौं-भद्रपुर | ८ हजार | १२ हजार ३८३ |
उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट खुला गरे पनि बुकिङ भइसकेको यातायात व्यवसायीहरूले बताइरहेका छन् । अर्कोतिर बसको टिकट पनि व्यवसायीहरूले सामान्य अवस्थाको भन्दा निकै बढाएका छन् ।
सडक र हवाई यातायातमा महंगो भाडा तिरेर पनि सिट नपाइने भएपछि दशैंतिशारका लागि काठमाडौंबाट बाहिरिने सर्वसाधारण समस्यामा परेका छन् ।
हवाई भाडा निकै महंगो भए पनि सर्वसाधारणले विरोध गर्न थालेका छन् । आइतबार कैलालीको धनगढी विमानस्थलमा काठमाडौं–धनगढीको काठमाडौं–दिल्लीभन्दा महंगो हवाई भाडा भएको भन्दै सर्वसाधरणले विमानस्थल बाहिर प्रदर्शन समेत गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला विमान कम्पनीहरूले सरकारले तोकेको भाडा नै लिइरहेको बताउँछन् । ‘वायुसेवा कम्पनीले सरकारले तोकेकै भाडाको सीमाभित्र रहेर लिइरहेका छन्,’ उनले भने, ‘नेपाल सरकार पर्यटन मन्त्रालयले हवाई भाडा तोकिदिएको छ । सरकारले तोकेको अधिकतम र न्यूनतम सीमा भित्र रहेर लिन पाउँछन् । त्योभन्दा बढी लिए कारबाही हुन्छ ।’
आन्तरिक उडानतर्फ वार्षिक ४५ लाख बढी यात्रु आवतजावत गर्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यसमध्ये एकतिहाई हिस्सा चाडपर्वकै अवधिमा आवतजावत गर्ने मानिसको हुन्छ ।
कुन ठाउँको कति छ ?
हवाई सेवा प्रदायक कम्पनीहरूका अनुसार अधिकांश ठाउँको न्यूनतम मूल्यका टिकट बुकिङ भइसकेका छन् । सामान्य अवस्थाकोभन्दा अहिले यस्ता ठाउँको हवाई भाडा तीन गुणासम्म महंगो भएको छ ।
कम्पनीहरूले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा महंगो आन्तरिक उडानको भाडा काठमाडौंदेखि धनगढीसम्मको छ । प्रतिव्यक्ति काठमाडौंबाट धनगढीको एकतर्फी भाडा न्यूनतम ११ हजारदेखि १७ हजार १८६ रुपैयाँसम्म रहेको छ ।
सामान्य अवस्थामा यो रुपटको हवाई भाडा ४ हजार देखि ८ हजारसम्ममा यात्रुहरूले यात्रा गर्न पाउँथ्ये । तर, अहिले तीन गुणासम्म महंगो भएको हो ।
काठमाडौंदेखि नेपालगञ्जसम्मको हवाई भाडा १३ हजार ३९४ रुपैयाँसम्म छ । सुर्खेतसम्म १४ हजार १६८, भैरहवा ८ हजार ६४३, काठमाडौंबाट भरतपुरसम्म ४ हजार ७३९ रुपैयाँसम्म रहेको छ ।
काठमाडौंबाट पोखरासम्म साढे ६ हजार रुपैयाँसम्म, झापाको भद्रपुर १२ हजार र विराटनगर १० हजार रुपैयाँसम्म हवाई भाडा रहेको छ ।