वाणिज्य बैंकका सबै शाखाबाट नयाँ नोट साट्न नपाइने, यी शाखाबाट मात्र पाइने

काठमाडौं । यस वर्ष वाणिज्य बैंकका सबै शाखाबाट नयाँ नोट साट्न नपाइने भएको छ । विगतका वर्षहरूमा वाणिज्य बैंकका सबै शाखाहरूबाट नयाँ नोट सटही सुविधा पाइने भए पनि यस वर्ष सीमित शाखाबाट मात्र पाइने भएको छ ।

यस वर्ष राष्ट्र बैंकले नै वाणिज्य बैंकहरुलाई सीमित शाखाहरूबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाउन भनेसँगै बैंकहरूले पनि सोही बमोजिम व्यवस्था गरेका छन् । अधिकांश बैंकहरूले आफूले नयाँ नोट सटही गर्ने शाखाबारे जानकारी दिन सूचना निकालेका छन् ।

आजदेखि नयाँ नोट सटही सुरु भएको छ । तर, वाणिज्य बैंकका सबै शाखाहरूबाट नपाउँदा सर्वसाधरणले सास्ती व्यहोर्नु पर्ने भएको छ । राष्ट्र बैंक र वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयहमा नयाँ नोट साटन् सर्वसाधरणको भीड लागेको छ ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल गरी कुल साढे १८ हजार रुपैयाँ बराबरको नोट सटही सुविधा दिइने छ ।

क्यूआर मार्फत भुक्तानी गरेर नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ ।

कुन बैंकको कुन शाखाबाट साट्न पाइन्छ नयाँ नोट ?

ग्लोबल आइएमई बैंकले काठमाडौं उपत्यकाको ५ शाखाबाट नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार काठमाडौंको कान्तिपथ, कमलादी, धापासी, ललितपुरको पुलचोक र भक्तपुरको सूर्यविनायक शाखाबाट मात्र नयाँ नोट साटिने छ ।

त्यस्तै, प्रभु बैंकले नयाँ बानेश्वर, स्वयम्भू, कुमारीपाटी (मानभवन), भैंसेपाटी र ठिमी शाखाबाट मात्र नयाँ नोट साट्ने भएको छ ।

नबिल बैंकले उपत्यकाका जम्मा ५ वटा शाखाबाट मात्र सटही सुविधा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल विनायक र बौद्ध रामहिटी शाखाबाट नयाँ नोट सटही सुविधा पाइने छ ।

माछापुच्छ्रेले काठमाडौंको लाजिम्पाट, भक्तपुरको कौशलटार र ललितपुरको पुल्चोकबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

कुमारी बैंकले आजदेखि कात्तिक २ गते (१ देखि ३ बजे) र ३ गते (११ देखि १ बजेसम्म) नयाँ नोट सटही गर्ने भएको छ । बैंकले उपत्यकाका पुतलीसडक, गांगबु, पेप्सीकोला, बागबजार, टेकु, महाराजगञ्ज, चाबहिल, कुमारीपाटी, नयाँ बानेश्वर र सूर्यविनायक शाखाबाट नयाँ नोट साट्ने भएको छ ।

त्यसैगरी, सिटिजन्स बैंकले उपत्यकाका खरबारमार्ग, न्यूरोड, कलंकी, मैतीदेवी, थापाथली, कमलादी, नयाँ बानेश्वर, सामाखुसी, धुम्बाराही, बौद्ध, कीर्तिपुर, कुमारीपाटी, थसीखेल, ठिमी र सूर्यविनायक शाखाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

एनआइसी एशिया बैंकले उपत्यकाका ४ शाखाहरू थापाथली, धापासी, भैंसेपाटी र व्यासी विस्तारित काउन्टरबाट नयाँ नोट साट्ने भएको छ ।

 

 

 

नेपाल स्टार्टअप फेस्ट पुसमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती Read Previous

नेपाल स्टार्टअप फेस्ट पुसमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती

इनड्राइभले दियो म्याराथनको विजेतालाई इलेक्ट्रीक स्कुटर Read Next

इनड्राइभले दियो म्याराथनको विजेतालाई इलेक्ट्रीक स्कुटर