यस वर्ष ७३१ झोलुङ्गे पुलको निर्माण गरिने

फाइल तस्वीर

काठमाडौं । देशभरमा यस वर्ष ७३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताए। गत वर्ष ७४१ को निमार्ण पूरा भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गतवर्ष ७२० निर्माण गर्ने लक्ष्य लिइएकामा त्योभन्दा २१ बढी पुल सम्पन्न भएका थिए ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सम्पन्न भएका थिए । प्रदेश र स्थानीय तहबाट पुल निर्माणका लागि पनि सहजीकरण भने सङ्घीय सरकारले गर्दै आएको छ ।

गत वर्षहरुमै सुरु भएका धेरै पुलहरु रहेकामा तीमध्ये ७२० सकिन्छ भन्ने भए पनि त्यसमा बढी भएको प्रवक्ता न्यौपानेले बताए । उनले भने, ‘समग्रमा झोलुङ्गे पुलको प्रगति राम्रो रहेको छ ।’

अहिलेसम्म कम्तीमा प्रत्येक घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उनले बताए । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी)मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा–घण्टामा हुने गरी बनाउन लागेको छ ।

नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा गर्न लागिएको उनले बताए। उनले भने, ‘पहिलेको मापदण्डानुसार नै अझै केही बनाउन बाँकी छ ।’

सरकारले खासगरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ ।

विगतमा नदी वारपार गर्न धेरै नदीमा तुइनको प्रयोग हुने गरेको थियो । सरकारले तुइन विस्थापित गरेर पहिले तुइन भएको सबै ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गरिसकेको छ । कतिपय स्थानमा व्यक्तिगत रुपमा सामान ओसार्न तुइन रहेको भए पनि नागरिकले ओहोरदोहोर गर्न तुइन चढ्नुपर्ने बाध्यता भने अहिले छैन ।

नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत

ग्लोबल आइएमईको दसैं विशेष टिकटक प्रतियोगितामा, विजेताले ६० हजार पाउने Read Next

ग्लोबल आइएमईको दसैं विशेष टिकटक प्रतियोगितामा, विजेताले ६० हजार पाउने