काठमाडौं । काठमाडौंको कपन क्षेत्रमा वर्षेनी हुने हुने डुबान नियन्त्रण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाइने भएको छ । खोला मिचेर खोला माथिनै सडक निमार्ण गरिएकाले वर्षेनी बर्खायाममा डुबान हुने समस्या रहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न लागिएको हो ।
बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्र वर्षेनी डुबानको समस्या व्यहोर्नु परिरहकाले डुबानमुक्त बनाउन डीपीआर बनाउने तयारी गरिएकाे काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणका सिभिल इन्जिनीयर सजन कुँवरले हाल कपन क्षेत्रलाई डुबानबाट बचाउन डीपीआर बनाउने तयारी भइरहेको बताए । उनका अनुसार उक्त डीपीआरका लागि हाल ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उनले उक्त डीपीआरका लागि थप बजेटको माग गरिएको जानकारी दिए । उनले हाल १ करोड ५० लाख रुपैयाँ थप बजेट माग गरिएको बताए ।
‘कपनको डुबान क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको छ, सरकारले छुट्याएको बजेट पनि नपुग्ने देखियो, हामीले थप बजेट माग गरेका छौँ, त्यसपछि डीपीआर अघि बढ्छ,’ कुँवरले चाणक्य पोष्टसँग भने ।
हाल कपन डुबान नियन्त्रणको कामको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणले पाएको छ । धोबीखोला कोरिडोर निर्माण अन्तर्गत नै कपन डुबान नियन्त्रणको काम समेत अगाडि बढाउन लागिएको हो ।
उनले हाल ‘रिचार्ज वेल’ र ‘रेन वाटर हारवेस्ट’ दुई तरिकामा उपयुक्त तरिका छनोट गरी कपन डुबान समाधान गर्ने तयारी भएको बताए । यस विषयमा सहरी विकास मन्त्रालयसँग समेत छलफल भइरहेको उनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने खोला माथिको सडक हटाउन सुरू गरेको छ भने बुढानिलकण्ठले कुनै प्रक्रिया अघि बढाएको छैन । बस्ती बाक्लिँदै जाँदा वर्षेनी डुबान समस्या झन् बढ्ने भएकाले समाधनको दीर्घकालीन उपायको खोजी भएको हो । कपन डुबान बारे राजनीतिक तहमा समेत बहस हुँदै आएको छ । तर, अहिलेसम्म नियन्त्रणको कुनै ठोस योजना बन्न सकेको छैन् ।
कपनमा बर्खामा सामान्य पानी पर्दा समेत व्यक्तिको घरआँगनमै बाढी आउने गरेको छ । खहरे खोलालाई ह्युमपाइप भित्रबाट निकास दिइएको छ । बर्खामा पानी पर्ने बित्तकै आउने भेल ह्युमपाइपमा नअटाउने भएकाले बाहिर बाढीको रुपमा आउने गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ र ७ एवं बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १० र १२ का बस्ती डुबानमा पर्दै आएका छन् ।
स्थानीका अनुसार २०५६ सालतिर खहरे खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइएको थियो । त्यही खोलामाथि कालोपत्र गरेर पक्की सडक बनाइएको छ । बर्खामा ह्युमपाइपभित्रबाट बग्ने पानी अहिले बाक्लो बस्ती र खुला क्षेत्र अभावले सडक–बाटोमै बग्ने गरेको छ । हाल पानीको निकास हुने ठाउँ नै सडक बनेको छ ।