लगानी नहुँदा बैंकमा पैसा थुप्रिएको थुप्रियै, असोजमा मात्रै थपियो १ खर्ब निक्षेप

काठमाडौं । गत आर्थिक वर्ष स्रोत अभावले ऋण लगानी बढाउन नसकेका बैंकहरूसँग यस वर्ष अधित तरलता छ । चालु वर्षको सुरूदेखि कर्जाको माग नहुँदा लगानीयोग्य रकम बैंकिङ प्रणालीमै थुप्रिएको हो । अहिले बैंकिङ प्रणालीमा झन्डै ५ खर्ब लगानी योग्य रकम थुप्रिएको छ ।

राष्ट्र बैंकका अनुसार असोजमा मात्रै १ खर्ब रुपैयाँ निक्षेप बढेको छ । भदौ मसान्तसम्म वित्तीय प्रणालीमा ५७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असोजमा बढेर ५८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ३० अर्ब रुपैयाँ मात्रै कर्जा लगानी बढाएका छन् । भदौ मसान्तसम्म ४९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा अहिले ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले सीडी रेसियो, अन्तर बैंक ब्याजदर लगायतका सूचकहरू निकै तल छन् । बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसतमा सीडी रेसियो ८१.७४ प्रतिशत छ भने अन्तर बैंकदर १.७५ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ९० प्रतिशतको सीडी अनुपतासम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । प्रणालीमा तरलताको स्थिति जनाउने यी सूचकहरू सहज हुँदा बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त छ भन्ने देखाउँछ ।

राष्ट बैंकका अनुसार बैंकहरूसँग अहिले ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । सरकारले पूँजीगत खर्च बढाउन नसक्दा समेत प्रणालीमा निक्षेप भने बढ्दो छ । भदौ मसान्तसम्म सरकारको पूँजीगत खर्च ८ अर्ब १६ करोड रुपैयाँ रहेकोमा बुधबारसम्म आइपुग्दा १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । असोजमा सरकारले पूँजीगत खर्च जम्मा ४ अर्ब ४२ करोड मात्र पूँजीगत खर्च गरेको छ ।

यद्यपि, असोजमा सरकारले चालु खर्च भने १ खर्ब रुपैयाँ बढि गरेको छ । दशैंका कारण कर्मचारीलाई तलब तथा बोनस दिँदा चालु खर्च ह्वात्तै बढेको हो । सरकारले गरेको चालु खर्चको अधिकांश रकम दैनिक खर्चमै सकिने भएकाले बैंकमा निक्षेपको रुपमा आउँदैन ।

सरकारले बैंकलाई स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिनु, कर्जाको माग नहुनु, रेमिट्यान्स बढ्नु र उपभोक्ताले खर्च नबढाउनु जस्ता कारणले बैंकमा निक्षेप बढेको बैंकरहरू बताउँछन् ।

पूर्व बैैंकर अनलराज भट्टराई खासगरी कर्जा लगानी नहुँदा प्रणालीमा निक्षेप थुप्रिएको बताउँछन् । ‘यो वर्ष कर्जाको माग नै बढेको छैन । स्थानीय तहको निक्षेप गणना नगर्दा समेत प्रणालीमा तीन खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम थियो,’ उनले भने, ‘गत वर्ष र अघिल्लो वर्षको तथ्यांक हेर्दा पहिलो त्रैमासमै सबैभन्दा धेरै कर्जा विस्तार भएको थियो । त्यसको तुलनामा यो वर्ष ज्यादै न्यून हो । रेमिट्यान्स पनि बढेको छ । उपभोग घट्दा मान्छेले बचत गरेको रकम समेत खर्च गरेनन् । त्यसले निक्षेप वृद्धि भएको हो ।’

आार्थिक गतिविधि सुस्ताउँदा कर्जाको माग नभएको र निक्षेप बैंकमै रहेको उनले बताए । राष्ट्र बैंकको विभिन्न नीतिगत प्रावधानले पनि अहिले नै कर्जा वृद्धि हुने अवस्था नरहेको उनको भनाइ छ ।

सरकारले गत भदौ २५ देखि स्थानीय तहको ६० प्रतिशत रकम बैंकहरूलाई निक्षेपमा गणना गर्न दिने निर्णय गरेको थियो । यस सुविधाले बैंकहरूमा ६० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अर्कोतिर सरकारले पूँजीगत खर्च बढाउन नसके पनि कर्मचारीलाई तलब भत्ता तथा दशैं बोनसमा एक खर्ब बढी चालु खर्च गरेको छ । यो रकम पनि बैंकहरूमा आउँदा रकम बढेको तर त्यसअनुसार कर्जा लगानी नभएको जानकारहरू बताउँछन् ।

चालु वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूले ६० अर्ब रुपैयाँ मात्रै कर्जा लगानी बढाएको तथ्यांकले देखाउँछ । कर्जाको माग नहुँदा निक्षेपको तुलनामा ऋण लगानी न्यून छ । सोही कारण पनि तरलता थुप्रिएको बैंकरहरू बताउँछन् ।

प्रणालीका अधिक तरलता भएपछि राष्ट्र बैंकले पहिलो त्रैमासमै लक्ष्यको ४० प्रतिशत ऋण उठाएको छ । पहिलो र दोस्रो त्रैमासमा ५५÷५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउन तालिका बनाएको राष्ट्र बैंकले ८७ अर्ब ३१ करोड उठाइसकेको छ भने १० अर्बका लागि बिहीबार बोलकबोल आह्वान गरेको छ ।

सरकारले ४५ अर्ब रुपैयाँ दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण पनि पहिलो त्रैमासमै उठाउने भएको हो । नीतिगत दरभन्दा अन्तर बैंकदर २ प्रतिशतभन्दा माथि वा तल भए राष्ट्र बैंकले अनिवार्य रिभर्स रिपो मार्फत प्रणालीबाट तरलता खिच्छ । तर, यस पटक भने साढे १ प्रतिशत अन्तर बैंक ब्याजदर कायम हुँदा समेत सो मौद्रिक उपकरण प्रयोग गरेको छन ।

पोखरामा पुनः तोरीपानी क्षेत्रबाटै प्याराग्लाइडिङ सञ्चालनको तयारी Read Previous

पोखरामा पुनः तोरीपानी क्षेत्रबाटै प्याराग्लाइडिङ सञ्चालनको तयारी

सिद्धार्थ बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Next

सिद्धार्थ बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो