मुस्ताङबाट ५० करोडको स्याउ निकासी, उत्पादन भने ४० प्रतिशत घट्यो

म्याग्दी । गत वर्ष रू १ लाख ६० हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू १ लाख २० हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा १५० स्याउका बोट छन् ।

गत वर्ष रू १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले रू ५ लाखमा ठेक्कामा दिएको बताए । राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन् ।

‘स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,’ राजेन्द्र भने, ‘बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।’ स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल हो ।

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । ‘फूल खेलेर परागशेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,’ उनले भने, ‘यसवर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठमा वर्षाले बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन् ।’

मुस्ताङको १ हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । ‘३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ,’ प्रमुख बस्ताकोटीले भने, ‘गत वर्ष जिल्लामा ६ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’

रू ५० करोड मूल्य बराबरको ४ हजार ६२० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए । बचैँचामा प्रतिकिलो रू एक सयदेखि रू १२० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए ।

मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताए । ‘यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्,’ उनले भने, ‘नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैंचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ ।’

किसान बलबहादुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेका बताए । ‘स्याउलाई बजारको समस्या छैन,’ उनले भने ‘फलाउन सक्नु पर्यो जति पनि बिक्री हुन्छ ।’

धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताए । बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च रहेको उनको भनाइ थियो । रासस

६ अर्बको आइपीओ ल्याउन जगदम्बा स्टिल्सले दियो आवेदन, प्रतिकित्ता भाउ कति ? Read Previous

६ अर्बको आइपीओ ल्याउन जगदम्बा स्टिल्सले दियो आवेदन, प्रतिकित्ता भाउ कति ?

मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने Read Next

मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने