काठमाडौं । जगदम्बा स्टिल्सले ६ अर्ब रुपैयाँ बढीको प्राथमिक साधरण सेयर (आइपीओ जारी गर्ने भएको छ । शंकर ग्रुप अन्तर्गको जगदम्बा स्टिल्सले आइपीओ निष्काशनको अनुमति माग्दै असोज १९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अंकित मूल्यमा प्रिमियम जोडर आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता ३०० रुपैयाँ दरले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।
बोर्डबाट अनुमति पाउने बित्तिकै आइपीओ निष्काशन प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै सिद्धार्थ क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।
बाराको जीतपुरमा प्लान्ट रहेको जगदम्बा स्टिल्सको वार्षिक उत्पादन जडित क्षमता २४ लाख ४४ हजार टन छ । सन् २०२२/२३ मा जगदम्बा स्टिल्सले कुल ४० अर्ब १७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले स्पञ्ज आइरन आयात गरी नेपालमै बिलेट र डण्डी उत्पादन गर्दै आएको छ ।