नयाँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर, जहाजको संख्या १७ पुग्ने

buddha air-atr 72
फाइल तस्वीर

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ ।

नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

हाल तीनवटा एटीआर–४२ तथा १३ वटा एटीआर-७२ जहाजमार्फत सेवा दिइरहेको बुद्ध एयरले यही अक्टोबरभित्रै अर्को एउटा एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै कम्पनीको जहाज सङ्ख्या १७ पुग्ने छ ।

वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकतानुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।

उनले भने, ‘बुद्ध एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवं मूल्याङ्कन गराउँदै आएका छौँ ।’

जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्याङ्गर छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एकमा पर्छ । जहाँबाट स्वदेशी तथा विदेशी कम्पनीले पनि सेवा लिइरहेका छन् ।

बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरेको छ । कम्पनीले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यहरूमा पनि आधा दर्जनभन्दा बढी उडान गिररहेको छ । सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सङ्ख्या थप्ने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो क्लाइमेट फण्डबाट ऋण ल्याउँदै Read Previous

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो क्लाइमेट फण्डबाट ऋण ल्याउँदै

नेप्सेमा थप दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, कुनको ओपनरेञ्ज कति ? Read Next

नेप्सेमा थप दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, कुनको ओपनरेञ्ज कति ?