काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
दुवै कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्र र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् । नेप्सेका अनुसार मिड सोलुखोलाको प्रतिकित्ता १०० रुपैयाँ दरले ७४ लाख ८४ हजार कित्ता सेयर सूचीकरण भएको हो ।
नेप्सेले मिड सोलुको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । MSHL संकेत चिह्नमा यसको कारोबार हुनेछ ।
त्यस्तै, भगवती हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ दरको ५७ लाख २० हजार ६४७ कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १२०.४१ रुपैयाँदेखि अधिकतम ३६१.२३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले BGWT संकेत चिह्न प्रदान गरेको छ ।
नेप्सेमा सूचीकरण भएसँगै बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।