काभ्रेमा ८४९ सहकारीको अवस्था ‘अज्ञात’, ४३ प्रतिशत मात्र संचालनमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ८४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका १ हजार ४९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा ६४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ ।

बनेपा नगरपालिका बनेपामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप शर्मा जङ्गमले काभ्रेमा क्रियाशील सहकारीमा ६ लाख ७९ हजार ८१८ सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताए । उनले उक्त प्रतिवेदन मङ्गलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरेका थिए ।

यसबाट जिल्लाको जनसङ्ख्या ३ लाख ६४ हजार ३९ भन्दा करिब ३ लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जङ्गमले बताए । उनका अनुसार क्रियाशील सहकारीमा ५ हजार ७८२ जना सञ्चालक छन् भने २ हजार ६५५ कर्मचारी कार्यरत रहेका छन् ।

यस्तै सञ्चालमा आएका सहकारीमा रु ५ अर्ब पाँच करोडको सेयरपूँजी रहेको छ भने रु ३६ अर्बको बचत कारोबार रहेको अनुगमनले देखाएको सङ्घले जनायो । उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक रु २४ करोड ९१ लाख राजस्व बुझाइएको अध्ययनले देखाएको छ । पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसङ्गति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जङ्गमले बताए ।

प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका २२० सहकारीमध्ये १२३ क्रियाशील रहेको उल्लेख गरिएको छ । ती सहकारीमा ३ लाख १८ हजार ७३८ सेयर सदस्य छन् । बनेपाको जनसङ्ख्या ६७ हजारमात्रै देखिन्छ । कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको जनाइएको छ । बनेपामा रु २ अर्ब सेयर पूँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ ।

दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी सङ्घमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था बितेको चार महिनाको अवधिमा बेपत्ता भएको पाइएको सङ्घले जनायो ।

प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ ।

यस्तै कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो । हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन् ।

डिभिजन सहकारी कार्यालयका अनुसार बनेपामा १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्र्तगतका छन् । चौसठ्ठीवटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र छवटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका जनाइएको छ । बनेपाको तीन सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको सङ्घका अध्यक्ष जङ्गमले गुनासो गरे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले हालको अवस्थामा सहकारीलाई नियमन गर्ने निकाय सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउँदै बचतकर्ताको रकम जोखिममा पारेर भागेका सहकारीका सञ्चालकलाई नियमतः कारबाही गरी बचत फिर्ता गर्नुपर्ने बताए । बनेपा नगरप्रमुख शाक्यले नगरपालिकाभित्र भएका सबै सहकारीको वास्तविक तथ्याङ्कसहितको अवस्था प्राप्त भएकाले तत्काल यसको नियमन तथा सुधारका लागि योजना बनाउने बताए ।

नगर उपप्रमुख विमला सापकोटाले नगरले सुरु गरेको सहकारीहरूको वास्तविक अवस्था अध्ययन गरी बचतकर्ताको बचत सुरक्षित बनाउन तथा ऋण तिर्ने वातावरण बनाउन समन्वयकारी भूमिका खेल्ने बताए । उनका अनुसार अनधिकृतरूपमा सञ्चालित केही सहकारीको सम्पत्ति नगरमार्फत रोक्का गरिएको छ । रासस

साइन रेसुंगाको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

साइन रेसुंगाको लाभांश घोषणा, बोनस र नगद कति ?

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो क्लाइमेट फण्डबाट ऋण ल्याउँदै Read Next

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो क्लाइमेट फण्डबाट ऋण ल्याउँदै