थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला दुई दिनमै ४८ अंकले घटेको नेप्से आज १९ अंकले घटेको हो । यस साता ३ दिनमै नेप्से ६७ अंकले घटिसकेको छ ।

दुई वर्ष यता बियरिस ट्रेन्डमा रहेको नेप्से अझै लय समात्न सकेको छैन । यस अवधिमा सरकार र नेपाल राष्ट्र बैंकले केही नीतिगत लचकता अपनाए पनि लगानीकर्ता आशावादी हुन नसक्दा नेप्सेमा लगातार गिरावट जारी रहेको हो ।

गत शुक्रबार मात्र नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागतका लागि २० करोड बनाएको थियो । तर, जोखिम भार १५० प्रतिशत कायमै राख्दा लगानीकर्ता उत्साही बन्न नसकेका हुन् ।

मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा आइपुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब २८ करोड रुपैयाँ बढीको ४२ लाख ४७ हजार ४२६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.७९ प्रतिशतले घटेको छ ।

आज सानिमा जीआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज बाराही हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.६४ प्रतिशत गुमाएका छन् भने अपर लोहोरे खोला हाइड्रोपावरका सेयरधनीले ५.८६ प्रतिशत कमाएका छन् ।

टीभी भित्र सुन लुकाएर ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ Read Previous

टीभी भित्र सुन लुकाएर ल्याउने व्यक्ति विमानस्थलबाट पक्राउ

दुईतिहाई रेमिट्यान्स घरघडेरी जोड्न खर्च, साढे ४ प्रतिशत सेयरमा लगानी Read Next

दुईतिहाई रेमिट्यान्स घरघडेरी जोड्न खर्च, साढे ४ प्रतिशत सेयरमा लगानी