दुईतिहाई रेमिट्यान्स घरघडेरी जोड्न खर्च, साढे ४ प्रतिशत सेयरमा लगानी

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सको अधिकांश रकम घरजग्गामा लगानी हुने गरेको देखिएको छ । नेपाल राष्ट बैंकले गरेको एक अध्ययनले रेमिट्यान्सको दुईतिहाई बढी अर्थात् ६८.४१ हिस्सा घर निर्माण तथा जग्गा खरिदमा खर्च हुने गरेको देखाएको हो ।

लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदनले विदेशबाट पठाएको ६८.४१ प्रतिशत रकम घरजग्गा खरिद तथा घर निर्माणमा खर्च हुँदै आएको प्रतिवेदनले औंल्याएको छ ।

यसबाहेक वैदेशिक रोजगारीमा संलग्न श्रमिक र उनीहरूको परिवारले रेमिट्यान्सलाई विभिन्न क्षेत्रमा खर्च गर्ने गरेको देखिएको छ । अध्ययन अनुसार वैदेशिक रोजगारीमा संलग्न श्रमिक र उनीहरूको परिवारले विप्रेषण घरजग्गापछि ६६.२ प्रतिशत बैंक बचत, सुनचाँदी खरिदमा ५२.६७ प्रतिशत, व्यापार व्यवसायमा १२.२७, सामाजिक कार्यमा १२.०१, व्यक्तिगत लगानीमा ९.१४ र सेयर खरिदमा ४.४४ प्रतिशत लगानी गर्दै आएका छन ।

रेमिट्यान्सबाट आउने सबैभन्दा धेरै रकम पारिवारिक उपभोगमै खर्च हुने गरेको छ । शिक्षा स्वास्थ्य, मनोरञ्जन, ऋण तिर्ने प्रयोजनका लागि समेत खर्च हुने गरेको देखिएको छ । ५८.७८ प्रतिशत रकम दैनिक उपभोग खर्च, शिक्षा र स्वास्थ्यमा २२.४८ प्रतिशत, १०.०७ प्रतिशत रकम ऋण तिर्न र ८.६७ प्रतिशत मनोरञ्जन तथा अन्य क्षेत्रमा खर्च हुने गरेको देखिएको छ ।

गत वर्ष बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागसँगको समन्वयमा गरेको एक अध्ययनले पनि रेमिट्यान्सको अधिकांश रकम वस्तु आयातमै जाने गरेको देखाएको थियो । सो अध्ययनले व्यापार घाटा चुलिनुको कारण रेमिट्यान्स भएकाे औंल्याएको थियो । राष्ट्र बैंकको यस अध्ययन प्रतिवेदनले पनि रेमिट्यान्सको अधिकांश रकम उपभोगमै गएको तथ्य देखाउँछ ।


वैदेशिक रोजगारीमा संलग्न श्रमिक र परिवारका सदस्य मध्ये ६४.४९ प्रतिशतले जस्तापाताको छानो, तला थप, मर्मत सम्भार र नयाँ घर निर्माण गरेका छन् भने ३५.५१ प्रतिशतले घरको संरचनागत रूपमा कुनै परिवर्तन गरेको नगरेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारी र रेमिट्यान्सका कारण सञ्चार क्षेत्रमा सकारात्मक असर देखिएको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानुअघि १९.३२ प्रतिशत परिवार सञ्चार पहुँच बाहिर रहेकामा अहिले ९८.९६ प्रतिशत परिवारले आधुनिक सञ्चार माध्यमको प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्सका कारण दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य लगायतका सेवाको गुणस्तरमा वृद्धि भएको निष्कर्ष अध्ययनले निकालेको छ । यसैगरी, श्रमिकका परिवार र उनीहरूको खानपान, लत्ताकपडा, बसाईको गुणस्तरका साथै सामाजिक सम्बन्धमा समेत सुधार आएको् देखाएको छ ।

सामाजिक तथा पारिवारीक जीवनस्तर मत्र नभएर रेमिट्यान्सले मुलुकै अर्थतन्त्र आधिरहेको छ । कोभिडपछि घटेको रेमिट्यान्सका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको समस्याले पनि रेमिट्यान्सको हिस्सालाई झनै प्रस्ट्याएको छ । अर्थतन्त्रको एकतिहाई हिस्सा ओगटेको रेमिट्यान्सले अन्य सामाजिक मूल्य भने ठूलो चुकाइरहेको अर्थशास्त्रीहरू बताउँछन् । आयातमुखि अर्थतन्त्र भएकाले रेमिट्यान्सले व्यापार घाटाको असन्तुलनलाई पूर्ति गरिरहेको छ ।

अर्थतन्त्रको एकतिहाई हिस्सा

रेमिट्यान्सले अर्थतन्त्रको एकतिहाई हिस्सा ओगटेको छ । कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको तथ्यांकले देखाउँछ । पछिल्लो दशकमा कोभिडको समय बाहेक रेमिट्यान्स आप्रवाह बढ्दो छ ।

गत आर्थिक वर्षमा २१.१७ प्रतिशतले वृद्धि भएर १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर रेकर्ड बनाएको थियो । यो अवधिमा कुल जीडीपीको २२.७ प्रतिशत हिस्सा रेमिट्यान्सको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत वर्ष रेमिट्यान्सका्े आप्रवहमा गिरावट आउँदा समग्र अर्थतन्त्र नै असन्तुलन भएको थियो । बाह्य क्षेत्रमा देखिएको उक्त असन्तुलनले आन्तरिक अर्थतन्त्रमा पारेको असर अहिलेसम्म टरेको छैन । सरकारको विनिमय संचिति र भुक्तानी सन्तुलन तथा व्यापार घाटाको ठूलो असमानता रेमिटेयान्सले थेगिरहेको छ ।

 

थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो Read Previous

थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो

दसैंमा घर जान एकैदिनमा २४ हजारले काटे अग्रिम टिकट Read Next

दसैंमा घर जान एकैदिनमा २४ हजारले काटे अग्रिम टिकट