काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सको अधिकांश रकम घरजग्गामा लगानी हुने गरेको देखिएको छ । नेपाल राष्ट बैंकले गरेको एक अध्ययनले रेमिट्यान्सको दुईतिहाई बढी अर्थात् ६८.४१ हिस्सा घर निर्माण तथा जग्गा खरिदमा खर्च हुने गरेको देखाएको हो ।
लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदनले विदेशबाट पठाएको ६८.४१ प्रतिशत रकम घरजग्गा खरिद तथा घर निर्माणमा खर्च हुँदै आएको प्रतिवेदनले औंल्याएको छ ।
यसबाहेक वैदेशिक रोजगारीमा संलग्न श्रमिक र उनीहरूको परिवारले रेमिट्यान्सलाई विभिन्न क्षेत्रमा खर्च गर्ने गरेको देखिएको छ । अध्ययन अनुसार वैदेशिक रोजगारीमा संलग्न श्रमिक र उनीहरूको परिवारले विप्रेषण घरजग्गापछि ६६.२ प्रतिशत बैंक बचत, सुनचाँदी खरिदमा ५२.६७ प्रतिशत, व्यापार व्यवसायमा १२.२७, सामाजिक कार्यमा १२.०१, व्यक्तिगत लगानीमा ९.१४ र सेयर खरिदमा ४.४४ प्रतिशत लगानी गर्दै आएका छन ।
रेमिट्यान्सबाट आउने सबैभन्दा धेरै रकम पारिवारिक उपभोगमै खर्च हुने गरेको छ । शिक्षा स्वास्थ्य, मनोरञ्जन, ऋण तिर्ने प्रयोजनका लागि समेत खर्च हुने गरेको देखिएको छ । ५८.७८ प्रतिशत रकम दैनिक उपभोग खर्च, शिक्षा र स्वास्थ्यमा २२.४८ प्रतिशत, १०.०७ प्रतिशत रकम ऋण तिर्न र ८.६७ प्रतिशत मनोरञ्जन तथा अन्य क्षेत्रमा खर्च हुने गरेको देखिएको छ ।
गत वर्ष बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागसँगको समन्वयमा गरेको एक अध्ययनले पनि रेमिट्यान्सको अधिकांश रकम वस्तु आयातमै जाने गरेको देखाएको थियो । सो अध्ययनले व्यापार घाटा चुलिनुको कारण रेमिट्यान्स भएकाे औंल्याएको थियो । राष्ट्र बैंकको यस अध्ययन प्रतिवेदनले पनि रेमिट्यान्सको अधिकांश रकम उपभोगमै गएको तथ्य देखाउँछ ।

वैदेशिक रोजगारीमा संलग्न श्रमिक र परिवारका सदस्य मध्ये ६४.४९ प्रतिशतले जस्तापाताको छानो, तला थप, मर्मत सम्भार र नयाँ घर निर्माण गरेका छन् भने ३५.५१ प्रतिशतले घरको संरचनागत रूपमा कुनै परिवर्तन गरेको नगरेको प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगारी र रेमिट्यान्सका कारण सञ्चार क्षेत्रमा सकारात्मक असर देखिएको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानुअघि १९.३२ प्रतिशत परिवार सञ्चार पहुँच बाहिर रहेकामा अहिले ९८.९६ प्रतिशत परिवारले आधुनिक सञ्चार माध्यमको प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्सका कारण दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य लगायतका सेवाको गुणस्तरमा वृद्धि भएको निष्कर्ष अध्ययनले निकालेको छ । यसैगरी, श्रमिकका परिवार र उनीहरूको खानपान, लत्ताकपडा, बसाईको गुणस्तरका साथै सामाजिक सम्बन्धमा समेत सुधार आएको् देखाएको छ ।
सामाजिक तथा पारिवारीक जीवनस्तर मत्र नभएर रेमिट्यान्सले मुलुकै अर्थतन्त्र आधिरहेको छ । कोभिडपछि घटेको रेमिट्यान्सका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको समस्याले पनि रेमिट्यान्सको हिस्सालाई झनै प्रस्ट्याएको छ । अर्थतन्त्रको एकतिहाई हिस्सा ओगटेको रेमिट्यान्सले अन्य सामाजिक मूल्य भने ठूलो चुकाइरहेको अर्थशास्त्रीहरू बताउँछन् । आयातमुखि अर्थतन्त्र भएकाले रेमिट्यान्सले व्यापार घाटाको असन्तुलनलाई पूर्ति गरिरहेको छ ।
अर्थतन्त्रको एकतिहाई हिस्सा
रेमिट्यान्सले अर्थतन्त्रको एकतिहाई हिस्सा ओगटेको छ । कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको तथ्यांकले देखाउँछ । पछिल्लो दशकमा कोभिडको समय बाहेक रेमिट्यान्स आप्रवाह बढ्दो छ ।
गत आर्थिक वर्षमा २१.१७ प्रतिशतले वृद्धि भएर १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर रेकर्ड बनाएको थियो । यो अवधिमा कुल जीडीपीको २२.७ प्रतिशत हिस्सा रेमिट्यान्सको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
गत वर्ष रेमिट्यान्सका्े आप्रवहमा गिरावट आउँदा समग्र अर्थतन्त्र नै असन्तुलन भएको थियो । बाह्य क्षेत्रमा देखिएको उक्त असन्तुलनले आन्तरिक अर्थतन्त्रमा पारेको असर अहिलेसम्म टरेको छैन । सरकारको विनिमय संचिति र भुक्तानी सन्तुलन तथा व्यापार घाटाको ठूलो असमानता रेमिटेयान्सले थेगिरहेको छ ।