काठमाडौं । काठमाडौं महानगपालिका सहित ३३२ स्थानीय तहले बिजुलीको महशुल भुक्तानी नगरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार एक सूचना प्रकाशन गर्दै देशभरका ३३२ स्थानीय तहलाई ४५ दिनभित्र बाँकी विद्युत् महशुल बुझाउन ताकेता गरेको हो ।
प्राधिकरणका अनुसार स्थानीय तहले सडक बत्ती लगायत प्रयोजनका लागि विद्युत् प्रयोगबापत कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यो रकम गत असार मसान्तसम्मको रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार काठमाडौं महानगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रुपैयाँ बक्यौता तिर्न बााकी छ । त्यस्तै, ललितपुर महानगरपालिकाले २४ करोड ४१ लाख, वीरगञ्ज महानगरपालिकाले १७ करोड २८ लाख ६९ हजार ४६५ रुपैयाँ, पोखरा महानगरले १३ करोड ३५ लाख र विराटनगर महानगरपालिकाले ८ करोड ६६ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ ।
प्राधिकरणले बक्यौता बुझाउन बाँकी सबै स्थानीय तहले ४५ दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी महशुल बुझाउन आग्रह गरेको छ।
तोकिएको समयसीमाभित्र बक्यौता महशुल नबुझाए नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल सक्कलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।