आजदेखि देशभरका यी ९८ स्थानमा सुपथ पसल संचालन हुँदै, केमा कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । सरकारले चाडवाडको बेला नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ पसल संचालन गर्न लागेको हो ।

सरकारले वर्षेनि चाडपर्वको बेला सहुलियत पसल संचालन गर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तीन सरकारी निकायहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल संचालन गर्ने छन् ।

कहाँ-कहाँ संचालन हुँदै छन् सहुलियत पसल ?

मन्त्रालयका अनुसार देशभर ९८ स्थानमा सहुलियतपूर्ण पसल संचालन हुनेछ । जसमा खाद्यले ५२, साल्ट ट्रेडिङले ३५ र दुग्ध विकासले ११ स्थानमा सुपथ मूल्य पसल संचालन गर्ने छन् ।

खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यका भित्र थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने छ । त्यस्तै, उपत्यका बाहिर दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर, मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत र गुल्मीमा सहुलियत पसल सञ्चालनमा गर्नेछ ।

त्यस्तै, साल्ट ट्रेडिङले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र, ३ वटा घुम्ती पसलसहित ३५ स्थानबाट सुपथ पसल संचालन गर्ने भएको छ ।

त्यसैगरी, दुग्ध विकास संस्थानले मुख्य कार्यालय लैनचौरसहित न्यूरोड, खुमलटार, हेटौंडा, जनकपुर, विराटनगर, कोहलपुर, बुटवल, नेपालगञ्ज, अत्तरिया र धनगढीबाट सहुलियत मूल्यमा आफ्ना उत्पादन बेच्ने भएको छ ।

केमा कति छुट ? 

सुपथ पसलमा खाद्यान्न, तेल, दाल, गेडागुडी, घिउ लगायत दुग्धजन्य वस्तुहरु सहुलियतपूर्ण मूल्यमा पाइने छ । सुपथ पसलमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले वस्तु अनुसार छुट दिने छन् ।

मन्त्रालयका अनुसार चामल, दाल, गहुँ, आँटा, मैदा, चिउरा लगायत खाद्यन्नमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । त्यस्तै, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट पाइने छ ।

खाद्य कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ भने साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमै चिनी उपलब्ध गराउने भएको छ ।

यसैगरी, दुग्ध विकास संस्थानल घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिने मन्त्रालयले जनाएको छ ।

सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बैंकिङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता, चेक बाउन्समा २ वर्षसम्म जेल Read Next

बैंकिङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता, चेक बाउन्समा २ वर्षसम्म जेल