काठमाडौं । चौतफी दबाबपछि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको हो ।
यसअघि सेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ सम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर राष्ट्र बैंकले व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड बनाएको छ ।
‘कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु १५ करोड कायम गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ, ‘धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’
राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाए पनि जोखिम भार भने यथावत राखेको छ । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत र सोभन्दा बढी कर्जाको जोखिमभार १५० प्रतिशत यथावत राखेको छ ।