धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानले ३ अर्ब दिने 

काठमाडौं । धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे ।

‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनामा करिब रु २ अर्ब ९५ करोड (३ हजार २९६ मिलियन जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको छ,’ सम्झौतापछि उपलब्ध गराइएको विज्ञप्तिमा भनिएको छ ।

परियोजनाको कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू, र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सीटी, जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई सुदृढ हुनेछ ।

सो आयोजनाको कूल कार्यान्वयन अवधि ४८ महिना रहेको छ । प्रस्तावित अनुदान सहयोग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सशर्त अनुदानका रूपमा परिचालन गरिनेछ ।

नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जापान सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै अर्थ सचिव पुस्करले सो परियोजनाको कार्यान्वयनले विशेषगरी धुलिखेल र आसपासका बिरामीहरूलाई आपतकालीन सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि जापानी राजदूत किकुताले सो परियोजनाले स्वस्थ जीवन सुनिश्चित गर्न र नेपाली जनताको हितलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

अपर तामाकोशीको ७८ प्रतिशत हकप्रद बिक्यो, सवा ८ अर्ब संकलन Read Previous

अपर तामाकोशीको ७८ प्रतिशत हकप्रद बिक्यो, सवा ८ अर्ब संकलन

सेयर धितो कर्जामा १२ करोडको सीमा संशोधन, यस्ताे छ नयाँ व्यवस्था Read Next

सेयर धितो कर्जामा १२ करोडको सीमा संशोधन, यस्ताे छ नयाँ व्यवस्था