काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।
दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रति सेयर रु १०० अङ्कित दरको हकप्रद सेयर निश्कासन गरिरहेको छ ।
कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराकरको हकप्रद बिक्रीमा ल्याएको आजसम्म संस्थापक र सर्वसाधरणले गरी ८ अर्ब २३ करोडका लागि आवेदन दिएका हुन् ।
कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले रु ५ अर्ब ४० करोड ९ लाख चुक्ता गरेका हुन् ।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट रु ५ अर्ब १९ करोड ९१ लाख चुक्ता हुनुपर्ने छ । कम्पनीका अनुसार हालसम्म सर्वसाधारण सेयरधनीबाट रु २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताउनुभयो ।
गौतमले भने, ‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइसकेको छ, सेयर भर्ने स्थानमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ ।
रु १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर छ । सेयर स्वामित्वअनुसार प्राधिकरणले रु ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले रु ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले रु २१ करोड १८ लाख र रु २१ करोड १८ लाख हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट रु ५ अर्ब १९ करोड ९१ लाख चुक्ता हुनु पर्ने छ ।
यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले रु १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले रु १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले रु १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले रु ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले रु ३० करोड ४९ लाख ९२ हजार हकप्रद सेयरबापत चुक्ता गर्नुपर्ने छ । हकप्रद सेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पूँजी रु २१ अर्ब १८ करोड पुग्ने छ ।