विश्वभर डलरको प्रभुत्व घट्दै, ‘इमर्जिङ’ देशले दिँदै छन् चुनौती

काठमाडौं । विश्वकै शक्तिशाली मुद्राको रूपमा रहेको अमेरिकी डलरको हिस्सा पछिल्ला दिनहरूमा घट्दै गइरहेको छ । विदेशी मुद्रा संचितिमा संसारभर आफ्नो दबदबा कायम गरिरहेको डलरको हिस्सा घटेर गत वर्ष दुई दशक यताकै न्यून विन्दुमा आएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष लगायत विभिन्न संस्थाहरूका अनुसार सन् २०२२ मा विश्वभर डलर संचितको हिस्सा घटेर ५९ प्रतिशतमा आएको हो । यसले विश्वभर आफ्नो प्रभुत्व जमाउन सफल डलरको दबदबामा केही फरक पर्न थालेको कतिपयको विश्लेषण छ ।

‘इमर्जिङ’ देशहरूले कारोबार र संचितिमा चुनौती दिँदा डलरको प्रभाव घट्दै गएको उनीहरूको तर्क छ । विश्व अर्थतन्त्रमा डलरको अधिपत्य कम गर्न एन्टिपश्चिमा राष्ट्रहरूले आफ्नो करेन्सीलाई सशक्त बनाइरहेका छन् भने कतिपय देशहरूले अन्तरदेशीय कारोबार पनि सोही क्षेत्रको करेन्सीले गर्न थालेका छन् ।

भारत, चीन, रुस, ब्राजिल लगायतका देशहरूले आफ्नै देशको करेन्सीबाट अन्तरदेशीय कारोबार गर्ने प्रयास गरिरहेका छन् । पेट्रोलियम पदार्थको भण्डारण मानिने खाडीका केही देशहरू पनि यसप्रति उदार देखिएका छन् ।

सन् १९४५ पछि विश्वको प्रमुख विनिमय संचिति बनेको डलरबाटै अधिकांश देशले अन्तर्राष्ट्रिय व्यापार गर्दै आएका छन् । केन्द्रीय बैंकहरूमा पनि डलरको संचिति घट्दै गइरहेको विभिन्न रिपोर्टहरूले देखाउँछ ।

यद्यपि, अमेरिका अहिलेसम्म विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । सोही कारण लगानीका लागि डलर सुरक्षित मानिन्छ । अर्कोतिर तेल, अन्तर्राष्ट्रिय बजार, लगानी र ट्रेजरी बन्डहरूको पनि डलरमै कारोबार हुन्छ ।

डलरको प्रभाव घट्ने चुनौती रहे पनि आगामी दिनहरूमा प्रमुख संचितिको रूपमा कायमै रहने विज्ञहरू बताउँछन् । युक्रनसँगको युद्धमा पश्चिमा देशहरूले रुस विरुद्ध नाकाबन्दी लगाएपछि उसले आफ्नो व्यपारिक साझेदारसँग स्थानीय मुद्रामा कारोबारका लागि पहल गरेको बताइएको थियो ।

आइएमएफका अनुसार सन् २०२३ को पहिलो त्रैमासम्म विश्वभर विनिमय संचिति मध्ये ५८.८८ प्रतिशत हिस्सा डलरको रहेको छ । १९.९७ प्रतिशत युरो, ५.४० जापनिज, ४.८७ प्रतिशत फ्रेन्च करेन्सीको हिस्सा रहेको छ ।

नेपाललाई के फरक ?

विश्वभर डलरको माग अनुसार यसको मूल्य पनि घटबढ् हुन्छ । डलर मजबुत तथा कमजोर हुँदा प्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रमा समेत असर पर्ने गरेको छ । नेपालले ठूलो रकम बराबरको व्यापार घाटा सामना गर्दै आइरहेको छ ।

आयातमुखी अर्थतन्त्र भएकाले ठूलो रकम बाहिर जान्छ भने उपभोग्य मूल्यको सामान महंगो हुन्छ । यद्यपि, नेपालले भारतसँग स्थिर विनिमयदर कायम गरेको छ । सोही कारण डलरमा आउने उतारचढावले प्रत्यक्ष असर नगरे पनि भारतीय मुद्रामा परेको असर नेपाली रुपैयाँमा पर्न थाल्छ ।

अर्कोतिर रेमिट्यान्स र विदेशी पर्यटक भित्रिदाँ डलरको मूल्य वृद्धिले नेपाललाई फाइदा हुन्छ । यसैगरी, वैदेशिक अनुदान लगायतमा पनि डलर मजबुत हुँदा फाइदा हुने विज्ञहरू बताउँछन् ।

डलरसँग नेपाली मुद्रा अवमूल्यन

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको थियो । डलसँग नेपाली मुद्रा अवमूल्यन हुने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७४/७५ मा डलरसँग नेपाली मुद्राको औषत कारोबार दर १०४.३७ रुपैयाँ रहेकोमा आजसम्म आइपुग्दा १३२.८४ रुपैयाँ कायम भएको छ ।

 

जुम्लामा पहिलोपटक स्याउ ग्रेडिङ मेशिन सञ्चालन, तीन ग्रेडमा छुट्याइने Read Previous

जुम्लामा पहिलोपटक स्याउ ग्रेडिङ मेशिन सञ्चालन, तीन ग्रेडमा छुट्याइने

बजार अनुमगन प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन Read Next

बजार अनुमगन प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन