काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका बाबजूद जीवन बीमा व्यवसाय बढेको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन-भदौ) मा जीवन बीमा कम्पनीहरूले बीमा शुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा ११.८६ प्रतिशत अर्थात् ३ अर्ब ९ करोड रुपैयाँले बढाएका हुन् ।
यद्यपि, कुल बीमा शुल्क संकलन बढे पनि प्रथम बीमा शुल्क आर्जन भने ४८ करोड रुपैयाँले घटेको छ । नवीकरण शुल्क बढ्दा बीमा कम्पनीहरूको समग्र व्यवसायमा सुधार देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु वर्षको दुई महिनामा १४ जीवन बीमा र २ लघु जीवन बीमा गरी वटा जीवन बीमा कम्पनीहरूले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
कुल बीमा शुल्क मध्ये ४ अर्ब ३३ करोड ६७ लाख १९ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार नवीकरण बीमा शुल्क रहेको प्राधिकरणले जनाएको छ । कुल बीमा शुक्लमध्ये २ वटा लघु जीवन बीमा कम्पनीको हिस्सा १३ लाख ४५ हजार रुपैयाँ मात्र रहेको छ ।
गत वर्ष भदौसम्म जीवन बीमा कम्पनीहरूले कुल २६ अर्ब ४ करोड ३३ लाख कुल बीमा शुल्क आर्जन गरेका थिए । जसमा प्रथम बीमा शुल्क ४ अर्ब ८१ करोड र २१ अर्ब २२ करोड नवीकरण शुल्क रहेको छ ।
चालु वर्षको भदौसम्म जीवन बीमा कम्पनीहरूको सक्रिय बीमा लेखको संख्या १ करोड ३४ लाख ५३ हजार १६६ वटा रहेको छ । गत वर्ष सोही अवधिमा सक्रिय जीवन बीमा लेखको संख्या १ करोड ४० लाख ३९ हजार ५०७ वटा थियो ।
चालु वर्षको भदौ महिनामा मात्रै १४ जीवन बीमा कम्पनीहरूले ८ लाख १५ हजार ३३६ वटा बीमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बीमा कम्पनीले ६५१ वटा बीमा लेख जारी गरेका छन् ।
नेपाल लाइफको वर्चश्व कायमै
कुल बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सको वर्चश्व कायमै रहेको छ । चालु आवको दुई महिनामा संबलन भएको कुल बीमा शुल्कमध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी अर्थात् २७ प्रतिशत हिस्सा ओगटेको छ ।
प्राधिकरणका अनुसार भदौसम्म नेपाल लाइफले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ८ करोड प्रथम बीमा शुल्क र ६ अर्ब ९२ करोड नवीकरण शुल्क असुलेको छ ।
दोस्रो धेरै बीमा शुल्क संकलन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । बीमा संस्थानले भदौसम्म ७ करोड ६८ लाख प्रथम र ३ अर्ब ४९ करोड नवीकरण गरी कुल ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यसैगरी, भदौसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३ अर्ब ६ करोड, हिमालयन लाइफले २ अर्ब ९५ करोड, नेशनल लाइफले २ अर्ब ९० करोड, एशियन लाइफले १ अर्ब २२ करोड, सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड, सिटिजन लाइफले १ अर्ब १ करोड बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै, सानिमा रिलायन्सले १ अर्ब १ करोड, मेट लाइफ ९२ करोड, प्रभु महालक्ष्मी ८२ करोड, आइएमई लाइफ ७६ करोड, रिलायबल लाइफ ६७ करोड र सन नेपाल लाइफले सबैभन्दा कम ६३ करोड बीमा शुल्क आर्जन गरेको छ ।