कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

कास्की । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ ।  कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा २ हजार ३६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा ९९५ वटा मात्रै रहेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पैडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए । कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता सङ्ख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको सङ्ख्या बढ्दा राजस्व भने वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा रु २ करोड १२ लाख ३० हजार ६३१ राजस्व सङ्कलन हुँदा २०७९/८० मा रु  २ करोड ३९ लाख ९० हजार ९८९ राजस्व सङ्कलन भएको छ ।

विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको सङ्ख्या भने केही मात्रामा बढेको छ ।  आव २०७९/८० मा पर्यटनसम्बन्धस् ३३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन् ।

आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ ३१७, सेवामूलक उद्योगतर्फ १९८, उत्पादनमूलक उद्योगतर्फ १३५ र सूचना प्रविधिमा आधारित ७वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित ८८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएका थिएनन् । पर्यटनमूलक उद्योगमा ७४, सेवामूलक उद्योगमा ५४७, उत्पादनमूलक उद्योगमा २१६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत  ढकालले दिए ।

कास्कीका उद्योगमा आव २०७८/७९ मा रु ४ अर्ब ८९ करोड ५२ लाख पूँजी लगानी भएको थियो भने आव २०७९/८० मा रु ३ अर्ब २७ करोड १९ लाख पूँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले जानकारी दिए ।

आव २०७८/७९ मा २ हजार ६११ महिलासहित ४ हजार ८३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा  आव २०७९/८० मा १ हजार ७५१ जना महिलासहित ३ हजार ९६७ जनाले रोजगार प्राप्त गरेका छन् । कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६२९ उद्योग दर्ता भएका छन् ।

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २ हजारसम्म छुट पाउने Read Previous

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २ हजारसम्म छुट पाउने

दशैंको टिकाको उत्तम साइत बिहान ११:०२ बजे Read Next

दशैंको टिकाको उत्तम साइत बिहान ११:०२ बजे