दशैंको टिकाको उत्तम साइत बिहान ११:०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।

यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११:२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादशैंको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुन्छ ।रासस

कास्कीमा नयाँ उद्योग दर्ता घट्यो Read Previous

कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

सोनापुर मिनरल्सको आइपीओ भर्ने म्याद थप Read Next

सोनापुर मिनरल्सको आइपीओ भर्ने म्याद थप