काठमाडौं । नबिल बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । एनआइसी एशिया बैंकलाई उछिन्दै नबिल सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।
एनआइसीले गत वर्षको नाफाबाट घोषणा गरेको २९ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि सेयर मूल्यका आधारमा नबिलभन्दा पछि परेको हो । सेयर मूल्यका आधारमा झन्डै १ वर्षपछि नबिलले एनआइसीलाई उछिनेको हो ।
मंगलबार ( दिउँसो १२ बजेसम्म) एनआइसीको सेयर मूल्य प्रतिकित्ता ५७९ रुपैयाँ रहेको छ भने नबिलकोे ६ रुपैयाँ बढी अर्थात् ५८४ रुपैयाँ रहेको छ । यो नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै हो ।
यद्यपि, नबिलको सेयर मूल्य नबढे पनि एनआइसीको बोनस समायोजन हुँदा मूल्य घटेको हो । समायोजन अघि एनआइसीको सेयर मूल्य प्रतिकित्ता ७६१ रुपैयाँ थियो ।
वर्षेनी बम्पर लाभांश दिँदै आएको नबिल बैंकको सेयर संख्या बढेसँगै पछिल्ला वर्षहरुमा सेयर मूल्य बढ्न सकेको छैन । एनआइसी एशियाले भने ३ वर्षपछि यसपालि लाभांश दिएको हो ।
हाल नेप्सेमा नबिलको २७ करोड ५ लाख कित्ता सेयर सूचीकृत छ भने एनआइसीको गत वर्षको बोनस वितरणपछि १४ करोड ९१ लाख कित्ता हुनेछ । कर्जा, निक्षेप, खुद नाफा लगायत अधिकांश सूचकमा एनआइसी र नबिलको टक्कर रहँदै आएको छ ।