काठमाडौं । निर्जीव बीमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको हो ।
सवारी साधनको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था, बढ्दो संख्या लगायतका कारण निर्जीवन बीमा क्षेत्रको बिजनेशमा यसले एकतिहाई बढी योगदान दिएको छ । दुर्घटनाको जोखिम उच्च हुने भएका कारण दुईपाँग्रे तथा चारपाँग्रे सवारी साधनले अनिवार्य बीमा गर्छन् । जसको कारण कम्पनीहरूको व्यवसायमा सवारी बीमाको पोर्टफोलियो उच्च छ ।
निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा बाली, सम्पत्ति, सामुन्द्रिक, हवाई, इन्जिनियरिङ, लघु बीमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । मोटर बीमाको तुलनामा अन्य यी व्यवसायको हिस्सा न्यून रहेको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीले गरेको कुल व्यवसाय मध्ये २८.०६ प्रतिशत हिस्सा मोटर बीमाको रहेको छ । चालु वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीले कुल ७ अर्ब ८ करोड रुपैयाँ बराबरको व्यवसाय गर्दा मोटर बीमा बापत मात्रै १ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल नेपालमा बीमा भनेकै मोटर बीमालाई सम्झिने परिपाटी रहेको बताउँछन् । ‘नेपालमा बीमा भन्ने बित्तिकै मोटर बीमालाई लिइन्छ । यसो हुनुको कारण सवारी साधन धेरै हुनु र बढ्दो प्रयोग पनि हो,’ उनले भने ।
मोटर बमिाको तुलनामा अन्य व्यवसायको पोर्टफोलियो कम रहेको उनले बताए । सवारी साधनको बीमा व्यवसायबाट कम्पनीले ठूलो पोर्टफोलियो आर्जन गर्ने भएकाले सहर केन्द्रित व्यवसाय गर्न प्र्रतिस्पर्धा गर्ने गरेका छन् ।
सरकारले अनुदान दिँदा समेत कृषि तथा पशुबीमाको हिस्सा बढ्न नसक्नु बीमा कम्पनीहरू सहर केन्द्र्रित हुनु भएको विज्ञहरू बताउँछन् । बीमाको पहुँच बढाउने उद्देश्यले सोही कारण प्राधिकरणले लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको थियो । तर, त्यसले पनि प्रभावकारिता देखाउन नसकेको तथ्यांकले देखाउँछ ।
कुनको हिस्सा कति ?
बीमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै हिस्सा मोटर बीमाको छ भने न्युन लघु बीमा व्यवसायको छ । चालु वर्षको यस अवधिमा लघुबीमाको हिस्सा ०.०७ प्रतिशत रहेको छ । कम्पनीहरूले लघु बीमा व्यवसाय बापत ४८ लाख रुपैयाँ मात्रै बीमा प्रिमियम संकलन गरेका छन् ।
निर्जीवन बीमा व्यवसायमा कृषि तथा बाली बीमाको योगदान ५.०१ प्रतिशत रहेको छ । यस अवधिमा सो व्यवसाय बापत कम्पनीहरूले ३५ कारेड ४६ लाख रुपैयाँ प्र्रिमियम संकलन गरेको छ ।
दोस्रोमा सम्पत्ति बीमाको हिस्सा २६.७६ प्रतिशत रहेको छ । कम्पनीहरूले यस बापत १ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
सामुन्द्रिक बीमाको हिस्सा ६.७० प्रतिशत छ भने ४७ करोड ४४ लाख रुपैयाँ बीमा कम्पनीले शुल्क आर्जन गरेका छन् । हवाई बीमाबाट ४९ करोड प्रिमियम संकलन गरेका छनन् । यसको हिस्सा निर्जीवन बीमा व्यवसायमा ६.९७ प्रतिशत छ ।
इन्जिनियर बीमा बापत ९१ करोड बीमा शुल्क आर्जन गर्दा व्यवसायीक हिस्सा १२.९१ प्रतिशत रहेको छ । निर्जीवन बीमा व्यवसायमा अन्यको हिस्सा १३.५३ प्रतिशत छ भने ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।