विद्युत् महसुल नतिर्ने १८२३ ग्राहक कालोसूचीमा, साढे ७ करोड बक्यौता असुल्न बाँकी

वीरगंज। लामो समयदेखि विद्युत् महसुल नबुझाउने १ हजार ८ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएको हो। कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ।

टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए। कालोसूचीमा रहेका ग्राहकबाट ७ करोड ६५ लाख ५६ हजार ७६३ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा-बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट ०.५ प्रतिशतले बढेको छ। गत आव २०७८/७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव २०७९.८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए।

आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने २ हजार ४६८ ग्राहकको विद्युत् लाइन काट्दा १ हजार ९०६ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार ६१५ रुपैयाँ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका इन्जिनियर निर्मला फौजदारले बताइन्।

त्यस्तै, सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार ७२४ रुपैयाँ राजस्व संकलन भएको इन्जिनियर फौजदारले जानकारी दिइन्। आव २०७९/८० मा २ हजार ४४२ नयाँ ग्राहक थपिएको छ।

योसँगै वीरगंज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार २०३ पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ। रासस

लुम्बिनी केबलकार आजदेखि तीन दिन बन्द Read Previous

लुम्बिनी केबलकार आजदेखि तीन दिन बन्द

१३ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Next

१३ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक