भारतको रियल टाइम मार्केटमा बिजुली बेच्न नेपालले पायो अनुमति, यी दुई आयोजनाको बेचिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत् बिक्री गर्न पाउने भएको हो ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार मात्रै रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि ‘बिडिङ’ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउनेछ ।

भारतको विद्युत् मन्त्रालयले गत १५ साउनमा विद्युत् आयात निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।

यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिँदै थियो । डे अहेडको नवीकरणका लागि पठाइएकामा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गरे ।

‘यसअघि प्रतिस्पर्धी बजारबाट विद्युत् आयात निर्यातका लागि एक दिन पर्खनुपर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौँ, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद बिक्री गर्नसक्ने अवस्था निर्माण भएको छ,’ अधिकारीले भने ।

उनले डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रा लागि नयाँ अनुभव र उपलब्धि भएको बताए। यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुकासाथै दुई देशबीचको विद्युत् व्यापारमा नयाँ इँटा थपिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि(एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर(मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा रु ५ अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

सिटिजन्स बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सिटिजन्स बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

सोनापुर मिनरल्सको आइपीओ भर्नु कति फाइदाजनक ? यस्तो छ वित्तीय अवस्था Read Next

सोनापुर मिनरल्सको आइपीओ भर्नु कति फाइदाजनक ? यस्तो छ वित्तीय अवस्था