काठमाडौं । पछिल्लो समय सेयर बजारमा रिय सेक्टरका कम्पनीहरू आउने क्रम बढ्दो छ । बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रोपावर कम्पनीको वर्चश्व रहेको सेयर बजारमा क्रमशः रियल सेक्टरका कम्पनीहरू आउन थालेका हुन् ।
हालै घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, रिपब्लिक मिडिया जस्ता रियल सेक्टरका कम्पनी सेयर बजारमा आएका छन् भने थप आधा दर्जन रियल सेक्टरका कम्पनी पाइपलाइनमा छन् ।
यसैक्रममा, आजदेखि उत्पादनमूलक कम्पनी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधरणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
सोनापुर कस्तो कम्पनी हो ?
सोनापुर मिनरल्स कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो । २०६५ साल जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको सोनापुर २०७७ साउन ७ गतेदेखि पब्लिक लिमिटेडमा परिणत भई कारोबार गर्दै आएको छ ।
सोनापुरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–९ मा रहेको छ भने उद्योग दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको छ । सोनापुर उत्पादनमूलक उद्योग हो । कम्पनीको कुल लागत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
उद्योगले २०६९ सालदेखि जेठ २८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक क्लिंकर २ लाख १३ हजार ३५७ मेट्रिकटन, ओपीसी सिमेन्ट १ लाख ७२ हजार ७२ मेट्रिकटन, पीपीसी सिमेन्ट ५ लाख ४९ हजार ४८० मेट्रिकटन र पीएससी सिमेन्ट ४९ हजार ९२४ मेट्रिकटन छ ।
यस्तै, कम्पनीले रोल्पाको रुन्टीगढी गाउँपालिकाको दुई ठाउँमा ४.५० वर्ग किमी र ३ वर्गकिलोमिटर क्षेत्रफलमा चुनढुङ्गाको उत्खननको अनुमति पाएको छ । कम्पनीका अनुसार पहिलो खानीको अनुमति ९ पुस २०६६ मा पाएको र ८ पुस २०८६ कायम रहने छ । दोस्रो खानीको अनुमति २९ जेठ २०७२ मा पाएकोमा २८ जेठ २०९२ सम्म कायम रहने जनाइएको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
सोनापुरको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ छ । हाल १ अर्ब ८४ करोड ५० लाख ३० हजार चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि (स्थानीय र सर्वसाधरणलाई) ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आव २०८२/८३ सम्म पूँजी वृद्धिको योजना बनाएको छैन । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत कायम हुनेछ ।
गत आर्थिक वर्षको अन्त्यसम्म १४ करोड ३९ लाख नाफा कमाउने प्रक्षेपण गरेको कम्पनीले चालु वर्षको अन्त्यसम्म ५४ करोड ६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, आव २०८१/८२ मा ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ र आव २०८२/८३ मा ७२ करोड ४२ लाख १९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.८ रुपैयाँ छ भने चालु आवको अन्त्यसम्म १७.५८ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । त्यस्तै, आव २०८१/८२ मा २२.३१ रुपैयाँ र आव २०८२/८३ मा २३.५५ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.८१ रुपैयाँ छ । चालु आवमा नेटवर्थ २०१.६५ रुपैयाँ, आगामी वर्ष २१५.९७ रुपैयाँ र आव २०८२/८३ सम्म २२९.५२ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।
गत वर्षको अन्त्यसम्म कम्पनीको जगेडा कोषमा ९१ करोड ९० लाख रुपैयाँ संचित छ । कम्पनीले आइपीओ बेचेर प्रिमियमबापत १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रुपैयाँ संकलन गर्नेछ । चालु वर्षको अन्त्यसम्म कम्पनीको जगेडा कोष ३ अर्ब १२ करोड, आगामी वर्ष ३ अर्ब ५६ करोड पुग्ने प्रक्षेपण गरेका छ ।
आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।
आइपीओ बिक्रीबाट पैसा के गर्छ ?
कम्पनीले आइपीओ बिक्रीबाट (प्रिमियम बाहेक) १ अर्ब २३ करोड २० हजार रुपैयाँ पूँजी जुटाउने छ । सोमध्ये कम्पनीले अधिकांश पैसा विभिन्न ९ बैंकको ऋण तिर्ने जनाएको छ ।
कम्पनीका अनुसार आइपीओबाट प्राप्त पैसामध्ये प्राइम नबिल बैंकको ८ करोड ४१ लाख ७५ हजार रुपैयाँ, सिटिजन्स बैंकको ५ करोड ३२ लाख ४० हजार रुपैयाँ, कमर्सियल बैंकको ३७ करोड ७९ लाख ७९ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको १ करोड २८ लाख ३६ हजार रुपैयाँ ऋण तिर्ने छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख ७८ हजार रुपैयाँ, कुमारी बैंकको १३ करोड १८ लाख ५१ हजार रुपैयाँ, सिद्धार्थ बैंकको ४ करोड ८१ लाख ४८ हजार, सनराइज बैंकको ९३ लाख ९३ हजार रुपैयाँ, र प्रभु बैंकको १२ करोड ११ लाख ९५ हजार रुपैयाँ कर्जा भुक्तानी गर्ने जनाएको छ ।
त्यस्तै, चालु पूँजी कर्जा प्रकृतिका चुनढुङ्गाको उत्खनन् तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङ्ग मेटरियल, कोइला र इन्धनको खरिद/पैठारी गरी मौज्दात कायम गर्न ८९ करोड ६१ लाख ६९ हजार रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।