निगमले फेरि बढायो इन्धनकाे भाउ, ग्यास सिलिण्डरमै २१५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) १८४ र काठमाडौँ, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा १७६.५ रुपैयाँ, दोस्रो वर्गमा १७८ रुपैयाँ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

दोस्रो त्रैमाससम्म कर्जाको माग झनै सुस्त हुने, बैंकले बढाउन सकेनन् ऋण लगानी Read Previous

दोस्रो त्रैमाससम्म कर्जाको माग झनै सुस्त हुने, बैंकले बढाउन सकेनन् ऋण लगानी

सोनापुर मिनरल्सको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ? Read Next

सोनापुर मिनरल्सको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ?