दोस्रो त्रैमाससम्म कर्जाको माग झनै सुस्त हुने, बैंकले बढाउन सकेनन् ऋण लगानी

काठमाडौं । गत आर्थिक वर्षदेखि ऋण लगानी बढाउन नसकेका बैंकहरुको कर्जा प्रवाह आगामी मंसिरसम्म झनै सुस्त हुने देखिएको छ ।

दशैं–तिहार, छठ लगायत चाडपर्वका कारण उद्योगी व्यवसायीहरुले नयाँ लगानी अघि नबढाउने भएकाले कर्जाको माग घट्दा बैंकहरुको ऋण प्रवाह झनै सुस्त हुने भएको हो ।

चाडवार्डको समयमा नयाँ नहुने लगानी तथा उत्पादन बन्द हुने भएकाले बैंकिङ लगायत अन्य केही क्षेत्रको व्यवसाय सुस्ताउने गरेको छ । सोही कारण व्यवसायिक दबाबमा परेका बैंकहरुले लगानीको समस्या आगामी एकदुई महिना सामना पर्नुपर्ने बैंकरहरु बताउँछन् ।

विगतका वर्ष हेर्दा यो अवधिमा कर्जा लगानी बढ्न नसकेको वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले बताए ।

‘सिष्टममा स्रोत हुँदा समेत पहिलो त्रैमासमा माग नहुँदा लगानी बढ्न सकेको छैन, यो समस्या दोस्रो त्रैमाससम्मै पुग्ने देखिन्छ,’ उनले भने ।

वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि माग नहुँदा बैंकमै थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुसँग अहिले ४ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम रहेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाको सीडी रेसीयो औषतमा ८२ प्रतिशत छ । यसले पनि बैंक लगानीका लागि निकै सहज अवस्थामा छन् भन्ने देखाउँछ । तर, माग भने वृद्धि भएको नभएको बैंकरहरुको भनाइ छ ।

बैंकहरुले गत वर्षदेखि ऋण लगानी बढाउन नसकेको तथ्यांकले देखाउँछ । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बजारमा माग वृद्धि नहुँदा बैंकिङ व्यवसायमा समेत असर देखिएको छ ।

राष्ट्र बैंकका अनुुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्ब रुपैयाँले बैंकको ऋण लगानी घटेको छ भने भदौमा आधा खर्ब बढीले बढेको देखिन्छ । दशैंतिहारका लागि सामान आयात, नाडा अटोसो, घरजग्गा क्षेत्रमा माग बढ्नु लगायतका कारण यो महिना कर्जा लगानी केही बढेको हो ।

असोजको दोस्रो सातासम्म ७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाएका छन् । यो अवधिसम्म संस्थाहरुको कुल कर्जा प्रवाह ४९ खर्ब २० अर्ब रुपैयाँ पुगेको तथ्यांक छ ।

सरकारले गत भदौदेखि स्थानीयतहको ६० अर्ब रुपैयाँ रकम निक्षेपमा गणना गर्नसक्ने सुविधा दिएको छ । जसको कारण पनि बैंकसँग तरलता थुप्रिएको छ । तर, ऋणको माग नहुँदा लगानी उल्लेख्य रुपमा बढेकाे छैन ।

चालु वर्षको पहिलो त्रैमासकको तेस्रो महिनाको मध्येसम्म बैंकहरुले ६५ अर्ब रुपैयाँ मात्रै लगानी गरेका छन् । यो लक्ष्यभन्दा न्युन हो । चालु वर्षमा राष्ट्र बैंकले ११.५ प्रतिशशतले निजी क्षेत्र तर्फ ऋण लगानी गर्ने लक्ष्य लिएको छ ।

दबाबमा बैंक

महंगो ब्याजमा निक्षेप लिएर लगानी गर्न नसक्दा बैंकहरु दबाबमा परेका छन् । असोजमा धेरैजसो बैंकहरुरले निक्षेप खोसिने डरले तरलता हुँदाहुँदै ब्याजदर बढाएका थिए । सोही कारण अहिले महंगो ब्याज तिरिरहेका छन् ।
यसले बैंकको लागत बढाएर एकातिर कर्जाको ब्याज महंगो बनाइरहेको छ भने अर्कोतिर लगानी नहुँदा स्रोत थुप्रिँदा बैंकको व्यवसायमा धक्का लागेको छ ।

बैंकमा रहेको निक्षेप मध्ये साउनसम्म मुद्दती निक्षेपको हिस्सा ६१.३ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

मुद्दती निक्षेपको हिस्सा धेरै हुँदा बैंकको लागत बढ्छ र जसको असर कर्जाको ब्याजदरमा पर्छ । एकातिर व्यवसाय विस्तार नहुँदा र अर्कोतिर लागत बढी तिर्नुपर्दा बैंकहरु दबाबकाे अवस्थामा रहेको बैंकरको भनाइ छ ।

किन बढेन मग ?

पछिल्लो डेढ वर्षयता लगानीको माग बढ्न नसक्नुको कारण अर्थतन्त्रमा आएको संकुचन भएको अर्थशास्त्रीदेखि बैंकरले बताउँदै आएका छन् । उच्च मूल्यवृद्धि र महंगो ब्याजरका कारण उपभोग घटेको छ ।

उपभोक्ताको क्रयशक्ति घट्दा माग वृद्धि हुन नसकेको हो । जसको असर आन्तरिक अर्थतन्त्रको चक्रमै जारी छ । बैंकर अर्थतन्त्रको रिफ्लेक्सन बैंकको ऋण लगानीमा पनि देखिएको बताउँछन् ।

‘कर्जाको माग नबढ्नु अर्थतन्त्रकै रिफ्लेक्सन हो । अब पनि केही समय वृद्धि हुने देखिँदैन । हामीले नै दोहोरो अंकमा निक्षेप उठाएका छौं । त्यसैले तत्काल ब्याजदर घटाउने अवस्था छैन,’ ती बैंकरले भने ।

असोजमा बैंकहरुको औषत संस्थागत निक्षेपको ब्याजदर १००.२६ र व्यक्तिगत तर्फ ८.१४ प्रतिशत कायम छ ।

महंगो ब्याजका कारण थप ऋणको माग हुन नसकेको अहिले बैंकरले बताइरहेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल Read Previous

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

निगमले फेरि बढायो इन्धनकाे भाउ, ग्यास सिलिण्डरमै २१५ रुपैयाँ बढ्यो Read Next

निगमले फेरि बढायो इन्धनकाे भाउ, ग्यास सिलिण्डरमै २१५ रुपैयाँ बढ्यो