काठमाडौं । बजारमा अहिले दर्जनौं ब्रान्ड थरिथरि आइसक्रिम पाइन्छन् । सहरदेखि ग्रामीण क्षेत्रसम्म गर्मी सिजनमा आइसक्रिमको माग उत्तिकै बढ्ने गरेको छ ।
विशेषगरी बालबालिका तथा युवा उमेर समूह माझ आइसक्रिम परिचित छ । उनीहरूको यही मागलाई मध्येनजर गर्दै विभिन्न कम्पनीले आइसक्रिम उत्पादन गरेर जताततै बेचिरहेका छन् ।
धेरै जनसंख्या भएको ठाउँमा माग बढी हुने भएकाले सहरका पसल–पसलमा पाइन्छन् अचेल विभिन्न ब्रान्डका आइसक्रिम । आकर्षक र मिठाई युक्त आइसक्रिमको स्वादले यो उमेर समूहको ध्यान तानेको पाइन्छ ।
पसलहरूमा जताततै पाइने यस्ता आइसक्रिम के सक्कली आइसक्रिम नै हुन् त ? बालबालिकादेखि युवापुस्ताको रोजाइमा समेत पर्ने गरेको आइसक्रिम केबाट बन्छ भन्ने धेरैले ख्याल नगरेको हुनसक्छ ।
ख्याल गरे पनि दूधकै उत्पादन हो भनेर धेरैले सजिलै खान रुचाउँछन् । तर, बजारमा के दूधबाटै बनेको सक्कली आइसक्रिम मात्रै भेटिन्छ त ? ख्याल गर्नुस त, तपाईंले खानुभएको सक्कली आइसक्रिम नभएर फ्रजन डेजर्ट पनि हुनसक्छ ।
व्यवासायिक प्रतिस्पर्धाको दुनियाँमा उत्पादन बढाउने होड चल्नु सामान्य हो । तर, हामी आइसक्रिमलाई दूधकै प्रडक्ट भनेर कतै फ्रोजन डेजर्ट त खाइरहेका छैनाैं । उही रङ र स्वाद हुने भएकाले सक्कली आइसक्रिम र फ्रोजन डेजर्ट छुट्याउन गाह्रो छ । तर, ती उत्पादन बीच भिन्नता भने पाइन्छ ।
नेपाल डेरी एशोसियशनका अध्यक्ष प्रल्हाद दाहाल फ्रोजन डेजर्टलाई आइसक्रिम भन्न नमिल्ने बताउँछन् । ‘फ्रोजन डेजर्टलाई आइसक्रिम भनिँदैन,’ उनले भने, ‘फ्रोजन डेजर्ट भेजिटेबल तेलबाट बन्छ ।’ वास्तविक आइसक्रिम शतप्रतिशत दूध तथा दूधजन्य पदर्थबाट बन्ने उत्पादकहरू बताउँछन् ।
नेपालमा पनि विभिन्न ब्रान्डका डेरी प्रडक्ट आइसक्रिम रहेको उनले बताए । ‘हाम्रोमा धेरै भेराइटी त छैन । तर बजारमा विभिन्न ब्रान्डका आइसक्रिम पाइन्छन्,’ उनी भन्छन् ।
कतिपय थाहा नभएको ठाउँमा फ्रोजन डेजर्टलाई वास्तविक आइसक्रिमको रूपमा बेच्ने गरेको पनि हुन सक्ने उनले बताए । नेपालमा हाल दर्जनौं डेरी तथा आइसक्रिम कम्पनीले आइसक्रिम उत्पादन गर्छन् ।
कसरी छुट्याउने फ्रोजन डेजर्ट ?
आइसक्रिम उत्पादक तथा दुग्धजन्य व्यवसायीहरूका अनुसार उत्पादनको क्रममै कम्पनीले फ्रोजन डेजर्ट र आइसक्रिम छुट्याएको हुन्छ । फ्रोजन डेजर्ट हो वा आइसक्रिम भन्ने कम्पनीले स्पष्ट रूपमा लेखेर बिक्री गर्नुपर्ने हिमशिला आइसक्रिम उत्पादक तथा नेपाल डेरी एशोसियशनका सचिव कुलप्रसाद घिमिरे बताउँछन् ।
‘कम्पनीले फ्रोजन डेजर्ट र आइसक्रिम स्पष्ट लेखेरै बिक्री गर्नुपर्छ,’ उनले भने, ‘फ्रोजन डेजर्टलाई आइसक्रिम भनेर बेच्यो भने त्यो गलत हो ।’
कतिपय आइसक्रिम कम्पनीले नै फ्रोजन डेजर्ट उत्पादन गर्ने गरेको उनले बताए । फ्रोजन डेजर्ट वनस्पतिको तेलबाट बनाइन्छ भने आइसक्रिम दुग्धजन्य पदार्थबाट बन्छ । आइसक्रिम र फ्रोजन डेजर्ट बीचको भिन्नता नै यही हो ।
स्वास्थ्यको लागि कति हानिकारक ?
उत्पादकहरू डेरी कम्पनीले नै फ्रजन डेजर्ट बनाउने बताउँछन् । उनीहरूका अनुसार फ्रोजन डेजर्टमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ । तर, स्वास्थ्याका लागि हानिकारक भने नभएको उनीहरूको कर्त छ ।
फ्रोजन डेजट र आइसक्रिम फरक उत्पादन भए पनि हानिकारक भने नभएको घिमिरे बताउँछन् । ‘फ्रोजन डेजटमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ । आइसक्रिम र फ्रोजन डेजर्ट फरक उत्पादन हुन । आइसक्रिम दूधबाट बन्छ भने फ्रोजन भेजिटेबल तेलबाट बनाइने उत्पादन हो । यसले स्वास्थ्यलाई हानि गर्दैन,’ उनले भने ।