काठमाडौं । थप दुई वटा कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको हो ।
बोर्डका अनुसार दुवै कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले आइपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।
बोर्डले मुक्तिनाथ कृषि कम्पनीलाई चुक्ता पूँजीको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आइपीओ बिक्रीको अनुमति दिएको हो । यस कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।
त्यसैगरी, बोर्डले नेपाल वेयरहाउजिङलाई १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।