सुनको मूल्य ६ महिना यताकै सस्तो, किन घट्दै छ लगातार ?

काठमाडौं । सुनको मूल्य ६ महिना यताकै सस्तो भएको छ । पछिल्लो समय सुनको मूल्य लगातार घटेसँगै वैशाख यताकै सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । यो गत वैशाख यताकै सस्तो हो । यसअघि गत वैशाख १९ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ थियो ।

गत वैशाख यता लगातार बढेको सुनको मूल्य साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो । त्यसयता समान्य घटेको सुनको मूल्य तोलाको १ लाख १० हजार रुपैयाँभन्दा तल झरेको थिएन । तर, यो साता मात्रै प्रतितोला ३ हजार ४०० रुपैयाँले घटेपछि सुनको भाउ ६ महिना यताकै सस्तो भएको हो ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

किन घट्दै छ लगातार सुनको भाउ ?

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि घटेको हो । विश्व बजारमा सुनको मूल्य बढे नेपालमा पनि बढ्ने र घटे नेपालमा पनि घट्छ । सोही अनुसार पछिल्लो समय विश्व बजारमा सुनको मूल्य लगातार घट्दा नेपालमा पनि सस्तिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर र कच्चा तेलको मूल्य बढिरहँदा विश्वका ठूला लगानीकर्ताले सुनबाट आफ्नो लगानी डाइभर्ट गरेको बताइएको छ । सुनमा लगानी गरेका लगानीकर्ताले तेल र डलरमा लगानी गर्न थालेकाले सुनको भाउ घटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी केन्द्रीय बैंकले लगातार ब्याजदर बढाएसँगै विश्वभरका लगानीकर्ता डलरमा लगानी गर्न थालेका छन् । त्यस्तै, विश्वका ठूला तेल उत्पादक रुस र साउदी अरबले तेल उत्पादनमा भारी कटौती गरेपछि कच्चा तेलमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।

विश्व बजारमा गत मे ४ मा प्रतिऔंस (२८.३४ ग्राम) २०४४ डलरसम्म पुगेको सुनको मूल्य आज १८६६ डलरमा झरेको छ ।

नबिल ब्यालेन्स्ड फन्ड-२ को लाभांश घोषणा Read Previous

नबिल ब्यालेन्स्ड फन्ड-२ को लाभांश घोषणा

भरतपुरमा असल करदातालाई स्टिकर Read Next

भरतपुरमा असल करदातालाई स्टिकर