काठमाडौं । दशैँ नजिकिए पनि बजारमा कपडाको माग बढ्न सकेको छैन । विगतका वर्षहरूमा दशैं आउनु एक/डेढ महिना अघि नै कपडाको माग बढ्ने गरेको यस वर्ष त्यस्तो नभएको व्यवसायीहरू बताउँछन् ।
अर्थतन्त्रमा आएको संकुचन र अचाक्ली महँगीका कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न सकेको छैन । आम उपभोक्ताको क्रयशक्ति घट्दा खाद्यान्न बाहेक अन्य वस्तुको माग घटेको हो ।
विगतका वर्षहरूमा दशैंलाई लक्षित गर्दै भदौमै कपाडको माग हुने गरेको थियो । यस वर्ष दशैँ आउन आधा महिना मात्रै बाँकी रहँदा समेत कपडाको माग नभएको उद्योगी बताउँछन् । दशैं आम मानिसहरूका लागि मात्र ठूलो चाड नभई व्यापारीका लागि पनि ठूलो पर्व हो । वर्षभरी बिक्री हुन नसकेको लुगा दशैँमा नै बिक्री हुने गर्छन । तर, यो पटक त्यस्तो छैन ।
खुद्रा पसलमा कपडाको माग नबढ्दा होलसेल पसलेले नयाँ कपडा ल्याएका छैनन् । होलसेलमै व्यापार नभएपछि कपाड उद्योगहरू पनि आधा क्षमतामा मात्रै संचालनमा छन् ।
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका अध्यक्ष राज कार्की पछिल्लो समय दशैँमा कपडा किन्ने चलन हराउँदै गएको बताउँछन् । उनले हाल कपडा उद्योगहरू समेत ५० प्रतिशत मात्र क्षमतामा सञ्चालनमा आएको बताए ।
उनले दशैँको समयमा २५ प्रतिशत मात्र नेपाली उत्पादन खपत भएको बताए । हाल मन्दीका कारण उपभोक्ता घटेको र बजारमा किनबेच समेत सुस्ताएको उनले बताए ।
‘बजारमा माग नै छैन, कारोबार झन् कसरी हुन्छ , कोरोना सकिएपछिको वर्षमा राम्रो व्यापार भएको थियो । त्यसपछि झन् सेलाउँदै गएको छ, यो पटक २५ प्रतिशत पनि कारोबार होला न होला भन्न सकिँदैन,’ कार्कीले चाणक्य पोष्टसँग भने ।
नेपालमै उत्पादन हुने कपडाको मात्र नभई विदेशबाट आयात हुनेको पनि माग घटेको उनले बताए । व्यापारीहरूले विदेशबाट करोडौंको लत्ताकपडा ल्याए पनि बिक्न नसकेको उनको भनाइ छ । ‘सबैतिर मन्दी छ । मानिसको क्रयशक्ति घटेको छ । यहाँ उत्पादित मात्र होइन विदेशबाट ल्याइएका कपडा पनि बिकेका छैनन् । दशैंका लागि ल्याएका कपडा गोदामै थन्किएका छन्,’ उनले भने ।
नेपालमा बिक्री हुने कपडा मध्ये ८० प्रतिशत आयातित नै हुने गर्छ । बाँकी २० प्रतिशत मात्र कपडा नेपालमै बनेका हुन्छन् । चालु आर्थिक वर्षको २ महिनामा ७ अर्ब १८ करोड रुपैयाँ बराबरको रेडिमेट कपडा आयात भएको भन्सार विभागको तथ्यांक छ । सो मूल्यमा ३ करोड ५५ लाख ३६ हजार ८७५ पिस रेडिमेट कपडा नेपाल भित्रिएको हो ।
नेपालमा भारत, चीन, थाइल्याण्ड, फिलिपिन्स, पाकिस्तान, नर्वे, बंगलादेश, हङकङ लगायतका देशबाट कपडा आयात गरिन्छ ।