अघि बढ्यो जगदुल्ला अर्धजलाशयुक्त आयोजना, ६ महिनाभित्र निर्माणमा सुरू

काठमाडौं ।  ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजनाको कुल क्षमता १०६ मेगावाट छ । स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित सो आयोजनाको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई समग्र आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै छ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराएका थिए ।

हाल आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारी समेत अन्तिम चरणमा रहेको उनको भनाइ थियो । कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ । आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ । आयोजनाबाट वार्षिक रुपमा ६२३.४७ गिगावाट घण्टा बराबरको विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

आयोजना अर्धजलाशय प्रकृतिको हो । यसको डिजाइन बहाव १६.७ घनमिटर प्रतिसेकेण्ड छ । यस्तै कूल ग्रस हेड ७८९.६० रहेको छ । आयोजनाको मुख्य संरचना नगदुल्ला नदीको बाँया किनारामा छ । पानी फर्काउनका लागि निर्माण हुने बाँधको लम्बाइ ९३ मिटर बराबर निर्माण गरिनेछ । ‘क्रङ्क्रिट ग्राभिटी टाइप’ को बाँध निर्माण हुने र समुद्री सतहबाट २ हजार ६९६ मिटरमा रहनेछ ।

आयोजनाबाट उत्पादित बिजुली १३२ केभी क्षमताको  ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेशनमा जोडिनेछ । सो आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएलल)ले रु ४ अर्ब बराबरको लगानी गर्ने भएको छ ।

गत भदौ ९ गते एचआइडिसिएल र प्रवद्र्धक कम्पनीकाबीच ऋण स्वीकृत पत्र आदानप्रदान भएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका थिए ।

सो आयोजना निर्माणका लागि करिब रु २३ अर्ब लाग्ने अनुमान छ । सबै खालका अध्ययन सकिएको यो आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए।

आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नविल बैंकलगायतले लगानी गर्ने तयारी गरिएको छ । आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार पाँच कित्ता सेयरको रु ११ करोड ७१ लाख ५० हजार उपलब्ध गराइसकेको छ । त्यस्तै दोस्रो चरणमा रु छ करोड चालु आवमा नै भुक्तानी गरिसकेको छ । आयोजनाको कूल लगानीको ५ प्रतिशत सेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ ।

विद्युत् खरिदबिक्री सम्झौतामा तोकिएको तालिकाअनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने सुुरु हुनेछ । आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशतले हुन आउने रु १६ अर्ब ९२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत रु सात सात अर्ब २५ करोड स्वपुँजी लगानी जुटाउने तयारी गरिएको छ । सोही कम्पनीले नै ८२.३ मेगावाट क्षमताको को जगदुल्ला ‘ए’ आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनीमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत बराबरको सेयर स्वामित्व छ ।

यस्तै, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर स्वामित्व छ । बाँकी रहने ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । हाल पहुँचमार्ग निर्माणको काम जारी छ । आयोजनाको विस्तृत इञ्जिनीयररिङ अध्ययन सम्पन्न भइसकेको छ । आयोजनाका लागि २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण भइसकेको छ ।

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड Read Previous

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

दशैंका लागि छैन कपडाको माग, उद्योग आधा क्षमतामा मात्रै संचालन Read Next

दशैंका लागि छैन कपडाको माग, उद्योग आधा क्षमतामा मात्रै संचालन