काठमाडौं । सुन तस्करीमा संलग्न ठूलो गिरोह हिरासतमा रहे पनि तस्करी अझै रोकिएको छैन । गत साउनमा त्रिभुवन विमानस्थलबाट ६१ किलो सुन बरामदपछि विमानस्थलबाट हुने सुन तस्करीमा केही कमी आए पनि चिनियाँ नाकाबाट हुने तस्करी पनि जारी नै रहेको छ ।
यसैक्रममा, चीनसँग सीमा जोडिएको दोलखाबाट ४ किलो सुनसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुधबार राति सिंगटीमा अवैध तरिकाबाट ल्याइएको ४ किलो सुनसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ गरिएको सुन परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको बारेमा नखुलाए पनि उनीहरु नेपाली नागरिक रहेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिले आफूहरु भरियाको रुपमा काम गरेको प्रारम्भिक बयान दिएको र थप अध्ययन भइरहेको प्रहरीले बताएको छ ।
आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।