काठमाडौं । आज काठमाडौंका झन्डै १ दर्जन भित्री सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ ।
इन्द्र जात्राको अवसरमा मानिसको भीड हुने भएकाले काठमाडौं महानगरपालिकाले विभिन्न सडकमा सवारी साधन चलाउन रोक लगाएको हो ।
इन्द्रजात्रा वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार आज वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
त्यस्तै, इन्द्रजात्राकै कारण भाेलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
त्यसैगरी, असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ ।