निर्जीवन बीमा कम्पनीको व्यवसाय १० प्रतिशतले घट्यो, कुनको कति ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको शिथिलताको असर निर्जीवन बीमा कम्पनीको व्यवसायमा देखिएको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन-भदौ)मा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क १० प्रतिशतले घटेको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्षको भदौसम्म कम्पनीहरुले ७ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ७९ करोड रुपैयाँले कम हो । गत वर्षको दुई महिनामा कम्पनीहरुले ७ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु वर्षमा ४ लाख ९ हजार कुल बीमालेख जारी गर्दा गत वर्ष कम्पनीहरुले ४ लाख ४५ हजार पोलिसी जारी गरेका थिए ।

गत वर्षदेखि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय बढ्न सकेको छैन । जसको कारण समग्र वित्तीय प्रणाली खल्बलिएको छ । उच्च ब्याजदर, आयस्रोतको घट्नु, महंगी बढ्नु जस्ता कारणले उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आएको छ । सोही कारण बीमा व्यवसायमा समेत धक्का लागेको देखिन्छ ।

१४ वटा निर्जीवन बीमा कम्पनी मध्ये सातवटाको व्यवसाय वृद्धि भएको छ भने सात वटाकै घटेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानको ५७ प्रतिशतले व्यवसायमा गिरावट आएको छ ।

दोस्रोमा नेपाल इन्स्योरेन्सको २५ प्रतिशतले व्यवसाय घटेको छ । सिद्धार्थ प्रिमियरको २२.९ प्रतिशत, युनाइटेड अजोडको ११.९४, नेकोले २.४६ र शिखर इन्स्योरेन्सको १ प्रतिशतले बीमा शुल्क संकलन घटेको छ ।

सबैभन्दा धेरै बीमा व्यवसाय बढाउनेमा प्रभु इन्स्योरेन्स पहिलो स्थानमा छ । यो कम्पनीले ३८ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । नेशनल १५, हिमालयन एभरेष्ट १४ र ओरिअन्टल इन्स्योरेन्स कम्पनीले ४ प्रतिशतले व्यवसाय बढाएको छ ।

यसअवधिमा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ९१ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ । सिद्धार्थ प्रिमियर ७३ करोड, शिखर ६६ करोड, हिमालयन एभरेष्ट ६४ करोड रुपैयाँले बीमा हुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम नेपाल इन्स्योरेन्सले २३ करोड रुपैयाँले बीमा शुल्क संकलन गरेको छ ।

 

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’को विजेता घोषणा Read Previous

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’को विजेता घोषणा

आज काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने Read Next

आज काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने