नागढुंगा-नौबिसे सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ६ प्रतिशत मात्रै बाँकी

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार (असोज ९ गतेसम्म) सुरुङ खन्ने काम ९३.७० प्रतिशत सम्पन्न भएको हो ।

अब सुरुङ खन्ने काम करिब ६ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन सुरुङको ब्रेक थ्रु भइसकेको छ भने मुख्य सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको हाे।

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २३४०.४० मिटर सनिसकिएको छ । अब ३४७.६० मिटर मात्र सुरुङ खन्न बाँकी छ । कात्तिकभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने आयोजनाले बताएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्ने काम सकिएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ५ हजार १५१.४० मिटर निर्माण सम्पन्न भएको हो ।

आयोजनाको हालसम्म समग्रमा ६१.३१ प्रतिशत भौतिक प्रगति र ५७.२७ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

अहिले मुख्य सुरुङ खन्ने काम सँगसँगै सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि भइरहेको छ । मुख्य सुरुङमा फिनसिङको काम ४६.६० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । हालसम्म मुख्य सुरुङको १२५३.४५ मिटर मुख्य सुरुङ फिनसिङ गरिसकिएको छ ।

११ वटा संरचना निर्माण पूरा

नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । हालसम्म फ्लाइओभरको ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।

नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरि नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

आइपीओको भाउमै अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा Read Previous

आइपीओको भाउमै अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा

नेप्सेमा सूचीकृत कम्पनीले असोज भित्रै नवीकरण गर्नुपर्ने, नगरे जरिवाना लाग्ने Read Next

नेप्सेमा सूचीकृत कम्पनीले असोज भित्रै नवीकरण गर्नुपर्ने, नगरे जरिवाना लाग्ने