अब दूधमा भिटामिन ‘डी’ मिसाइने

काठमाडौं । अब नेपालमा उत्पादित दूधमा पनि भिटामिन ‘डी’  मिसाइने भएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले भारतमा भिटामिन ‘डी’ युक्त दुध प्रशोधन शुरु भएकाले नेपालमा पनि त्यसका लागि प्रस्ताव आएको जनाएको छ ।

 

विभागका खाद्य तथा दाना नियमन प्रमुख केशव केसीका अनुसार यसका लागि नेपालले पनि प्रक्रिया शुुरु गरेको छ । उनले खाद्य स्वच्छता अभिमुखीकरण तालिमका क्रममा विश्वका धेरै जसो राष्ट्रमा दूधमा भिटामिन मिसाउने गरेकाले यसलाई हामीले पनि अपनाउनु पर्ने समय आएको बताए ।

 

‘बच्चाहरु मोबाइलमा गेम खेल्छन् बाहिर गएर घाममा पसिना बगाउँदै खेल्ने चलन हटिसक्यो, त्यसैले भिटामिन डीको कमी धेरैमा देखा पर्न थालेको छ ।’ उनले भने ‘भारतले दूधमा भिटामिन डी हाल्न थालिसक्यो अब हामीले पनि त्यसका लागि प्रकृया शुरु गरेका छाैं ।’

 

दूध तथा दूग्ध स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ अनुसार प्रशोधित दूधमा आंशिक रुपमा चिल्लो झिकी चिल्लो रहित दूग्ध ठोस पदार्थ घोली वा नघोली निरोगन वा जीवाणु हनन् प्रक्रिया सम्पन्न भएको हुनुपर्छ । दूधको चिल्लो बढीमा ०.५ प्रतिशत हुनुपर्छ । दूधको चिल्लो बाहेक दूग्ध ठोस पदार्थ घटीमा ८.० प्रतिशत हुनुपर्छ ।

 

प्रशोधित घृतांशरहित दूधको निरोगन प्रक्रिया गर्दा दूधलाई कम्तीमा ६३ डिग्री सेन्टिग्रेडमा ३० मिनेटको समयभन्दा कम नहुने गरी सम्पूर्ण दूधलाई तताई वा अन्य कुनै बढी तापक्रममा निरोगन क्रिया पुग्ने समयसम्म राखी त्यसपछि तुरुन्त सम्पूर्ण दूधलाई १० डिग्री सेन्टिग्रेड वा त्यो भन्दा कम तापक्रमसम्म चिस्याईएको हुनु पर्नेछ ।

 

प्रशोधित दूधमा फोस्फाटेज टेस्ट नेगेटिभ हुनुपर्नेछ । निरोगन गरिएको प्रशोधित घृतांशरहित दूध विक्रीमा राखिएको भए वा तयार गरिएको भएमा प्रति मिलिलिटरमा कोलिफर्म गणना शून्य हुनुपर्छ ।

 

नेपालमा दैनिक ५ लाख लिटरदेखि ६ लाख लिटर दूधको माग हुने गरेको छ । दैनिक ५० हजार लिटरसम्म दूध उतपादन हुने गर्छ ।  हाल विभिन्न ठाउँमा उत्पादन भएर ल्याइने दूध सहकारी तथा दूग्ध डेरीको माध्यमबाट ‘पास्चराइज’ गरी काठमाडौंसम्म ल्याइने गर्छ ।

 

सो दूधबाट बचेका केही दूध पछिल्लो समय पाउडर बनाउन समेत प्रयोग गरिने गरेको पाइन्छ । नेपालमा भारतबाट पाउडर दूध आयात रोक लगाइए पनि झोल दूध आयात भने केही समय अघि खुल्ला गरिएको छ ।

 

यसरी हेर्दा नेपाल दूधमा पूर्ण आत्मनिर्भर देखिन्छ । दूधको गुणस्तरमा ध्यान दिन नसक्दा कहिलेकाही कोलिफर्मलगायतका अखाद्य वस्तु भेटिने गरेको छ । त्यसो भएता पनि पछिल्लो समय दूधको गुणस्तरमा निकै सुधार भएको विभागका कर्मचारीहरु बताउँछन् ।

ऊर्जा सम्मेलनमा तीन समझदारी पत्रमा हस्ताक्षर Read Previous

ऊर्जा सम्मेलनमा तीन समझदारी पत्रमा हस्ताक्षर

स्मार्ट सिटी निर्माणमा चिनियाँ कम्पनीको चासो, कहिलेबाट सुरु होला काम Read Next

स्मार्ट सिटी निर्माणमा चिनियाँ कम्पनीको चासो, कहिलेबाट सुरु होला काम