काठमाडौं । नेपालमा चिनियाँँ लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनततर्फकोे निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवैतर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त धारणा राखेका हुन् ।
द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।
उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।
प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण वनाउने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवद्र्धनमा सरकार सधैं तत्पर रहेको बताए । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देश बीचको व्यापार घाटा चिन्ताको बिषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।
सिसिपिआइटीको मुख्यालय बेइजिंगमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए । चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो ।
नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । यसैगरि उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए ।
समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सृजना गर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । साथै, नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पुर्वाधारहरू जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको वढि सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।
विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताए । नेपालमा लगानी गरेका बहुराष्टिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए ।
अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए । चिनियाँ बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए ।
सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्धिपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास जनाए ।
महासंघको वैदेशिक लगानी एवं अन्तराष्टिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसंगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।
समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्टिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता थियो । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।
यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरूबीच द्धिपक्षीय छलफल समेत भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।