काठमाडौं । दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिए पनि उपभोग्य वस्तुको आयात बढेको छैन । अर्थतन्त्रमा आएको मन्दीका कारण उपभोग्य वस्तुको माग बढ्न नसक्दा आयात बढ्न नसकेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार भदौ महिनामा पनि अन्य महिना सहर नै औसतमा विदेशी वस्तु आयात भएको छ । चालु आवको साउनमा १ खर्ब २९ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा भदौमा पनि १ खर्ब ३० अर्बको आयात भएको छ ।
दशैंतिहारका लागि भदौमा वस्तु आयात बढ्ने अपेक्षा गरिएको भए पनि बढ्न नसकेको हो । गत वर्षको तुलनामा भदौमा वस्तु आयात उल्टो घटेको छ । गत वर्ष भदौमा १ खर्ब ४२ अर्बको वस्तु आयात भएकोमा चालु वर्षमा ५ प्रतिशत घटेर १ खर्ब ३० अर्बमा सीमित भएको हो ।
आर्थिक मन्दी र बढ्दो महँगीका कारण बजारमा वस्तुको माग बढ्न नसक्दा आयात खुम्चिएको व्यापारीहरू बताउँछन् । चाडपर्वको बेला माग बढ्ने अपेक्षा गरिए पनि उपभोक्ताको क्रय शक्ति नबढ्दा माग बढ्न नसकेको उनीहरूको भनाइ छ ।
चालु आवको दुई महिनामा कुल २ खर्ब ५९ अर्बको वस्तु आयात भएको छ । जबकी गत वर्ष सोही अवधिमा २ खर्ब ७३ अर्बको वस्तु आयात भएको विभागको तथ्यांक छ । दुई महिनामा वस्तु आयात वापत सरकारले ६७ अर्ब ४७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
समीक्षा अवधिमा वस्तु निर्यात पनि घटेको छ । गत वर्षको तुलनामा निर्यात ७.७९ प्रतिशतले घटेर २६ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको विभागले जनाएको छ । गत वर्ष भदौसम्म २८ अर्ब ६८ करोडको वस्तु निर्यात भएको थियो ।
व्यापार घाटामा सुधार
आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । भदौसम्म कुलुकले २ खर्ब ३३ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । जबकि गत वर्ष सोही अवधिमा देशको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।
विभागका अनुसार कुल वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा ९.२४ प्रतिशत रहेको छ अर्थात नेपालले १०० रुपैयाँ बाराबरको सामान ल्याउँदा ९.२४ रुपैयाँ बराबरको सामान मात्रै निर्यात गर्न सक्छ ।
१०० देशसँग घाटाको व्यापार
चालु वर्षको दुई महिनामा नेपालले १२८ देसँग वैदेशिक व्यापार गर्दा १०० देशसँग घाटाको व्यापार गरेको छ । २२ देशसँग मात्रै व्यापार सन्तुलन रहेको तथ्यांकले देखाउँछ ।
नेपालको सबैभन्दा ठूलो व्यापार असन्तुलन भारतसँग रहेको छ । कुल २ खर्ब ३३ अर्ब रुपैयाँको व्यापार असन्तुलन हुँदा भारतसँग मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको नेपालले व्यापार घाटा बेहोरेको छ । दुई महिनामा यो देशबाट १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात गर्दा नेपालले १६ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।
दोस्रोमा चीनसँग ४५ अर्ब ९९ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । यो दुई महिनाको अवधिमा ४६ अर्बको सामान आयात गर्दा ५४ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । यसैगरी, यूएई, युक्रेन, मलेसिया इन्डोनेशिया लगायत देशहरूसँग नेपालको व्यापार असन्तुलन रहेको छ ।
मुख्य आयात हुने वस्तु
चालु आवको दुई महिनामा सबैभन्दा धेरै डिजेल आयात भएको छ । १५ अर्ब ७४ कारोड रुपैयाँ बराबरको डिजेल आयात हुँदा त्यसवापत सरकारले ६ अर्ब १० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
पेट्रोल ११ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने त्यसवात ६ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । विभागको तथ्यांक अनुसार ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको एलपीजी ग्याँस आयात भएको छ । सरकारले त्यसबाट १ अर्ब ३६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
यसैगरी, ७ अर्ब रुपैयाँ बराबरको फलामजन्य वस्तुहरू, ५ अर्ब ९९ करोड रुपैयाँको स्टील, ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएका छन् ।
४ अर्ब १२ करोड रुपैयाँको सुन र ४ अर्ब ११ करोड रुपैयाँ बराबरकै औषधिजन्य सामग्रीहरू आयात भएका छन् ।