गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू, एउटाको ४ हजार पर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो । १० ग्राम सिक्काको १ हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी Read Previous

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी

व्यापारीले चाडपर्वलाई ल्याएनन् सामान, आयात ५ प्रतिशत घट्यो Read Next

व्यापारीले चाडपर्वलाई ल्याएनन् सामान, आयात ५ प्रतिशत घट्यो