डिजिटल वालेटका चाडपर्व अफर : बाइकदेखि १ करोड नगद पाइने, कुनको कस्तो ?

काठमाडौं । दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै डिजिटल वालेट कम्पनीहरूले आकर्षक अफर ल्याउन थालेका छन् । वालेटहरूले आफ्नो व्यवासाय बढाउन क्यास ब्याकदेखि विभिन्न छुट अफरहरू ल्याएका हुन् ।

डिजिटल माध्यमबाट नगद रहित कारोबारलाई प्रोत्साहन गरिरहेका वालेटले विभिन्न सहुलियत सुविधा र कारोबारमा प्याकेज ल्याएर मानिसको ध्यान तानिरहेका छन् ।

बढ्दो डिजिटल कारोबारका बीच वालेट कम्पनीहरूको संख्या पनि बढ्दो क्रममा छ । सोही व्यवसायिक प्रतिस्पर्धाका कारण कम्पनीहरूले ग्राहक तान्न बेला–बेलामा विभिन्न योजनाहरू ल्याउने गरेका छन् ।

व्यवसाय वृद्धि गर्न कम्पनीले लिने यस प्रकारको रणनीतिले एकातिर प्रयोगकर्ताको संख्या बढाएर सोही माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्छ भने अर्कोतिर ग्राहकलाई पनि आकर्षण गर्छ ।

वालेट कम्पनीहरू बीचको व्यवसायिक प्रतिस्पर्धाका कारण पछिल्लो समय विभिन्न योजना ल्याउन होड नै चल्ने गरेको छ । हवाई बस टिकट काट्न, बत्ती, खानेपानी लगायतको घरायसी बिल भुक्तानी गर्न सहज भएकाले वालेटको प्रयोग बढ्दो छ ।

प्रयोगकर्ताको यही आवश्यकतालाई सहज बनाउन र आफ्नो व्यवसाय विस्तार गर्न कम्पनीले थप आकर्षणका योजना ल्याउने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबार गर्न तीन दर्जन बढी डिजिटल वालेट कम्पनीहरूले अनुमति पाएका छन् ।

अनुमति पाएका सबै वालेट कम्पनीहरू व्यवसायिक प्रतिस्पर्धामा नदेखिए पनि केही मुख्य कम्पनीहरूले भने दैनिक ठूलो रकम बराबर कारोबार गरिरहेका छन् । वाकालेटहरूले चाडपर्व नजिकिएसँगे नगद प्राप्ति, बाइक उपहार देखि प्लेनको टिकटसम्मका अफर ल्याएका छन् ।

कुन वालेटको कस्तो अफर ?

आइएमई पेले विदेशबाट पैसा पठाउँदा करोड रुपैयाँ प्राप्त गर्न सक्ने ‘आइएमई गरौं, करोडपति बनौं’ भन्ने नारा सहितको अफर ल्याएको छ । यस योजनामा विदेशबाट आइएमई गरेर आइएमई पे तथा आइएमई काउन्टरमा पैसा पठाएर बैंक खातामा जम्मा गर्ने ग्राहकले सहभागीता जनाउन सक्छन् ।

कम्पनीका अनुसार उक्त योजना यही असोजदेखि आगामी भदौसम्म लागू हुनेछ । एकजना लक्की ड्रमार्फत ग्राहकले एक करोड रुपैयाँ जित्ने मौका पाउनेछ ।मासिक मेगा क्याम्पेनमा योजना अवधिभर प्रत्येक महिना एक जनाले १ लाख रुपैयाँसम्म रकम पाउनेछन् । दशैं, तिहार, छठ लगायत पर्वहरूमा दुई महिनासम्म दैनिक ३० जनाले आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ईसेवा वालेटले लिंक अकाउन्टबाट हरेक हप्ता उपहार जित्न सकिने अफर ल्याएको छ । असोज १८ सम्म लागू हुने यस योजना अन्तर्गत बम्पर उपहारमा बाइक पाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी, क्यूआर गर्दा ५ हजार रुपैयाँसम्ममा शतप्रतिशत क्यासब्याक, विद्यालयको फिस तिर्दा पनि रकम ग्राहकले क्यास ब्याक पाउन सक्नेछन् । त्यस्तै यस वालेटबाट होटल बुकिङ गर्दा ग्रहाकले बस्ने सुविधा लगात अफर प्राप्त गनर्न सक्नेछन् ।

१५०० सम्मको टिकटमा काठमाडौंदेखि पोखरा र बुटवल रुटमा हरेक दिन दुई जनालाई शतप्रतिशत क्यास ब्याक दिने वालेट कम्पनीले जनाएको छ । डिशहोमको रिचार्ज, क्यूआर लगायत अन्य टपअपमा पनि ग्राहकले इसेवाबाट कारोबार गर्दा क्यास ब्याक पाउने योजना कम्पनीले ल्याएको छ ।

खल्तीले खल्तीफुल दशैं योजना ल्याएको छ । यसमा खल्तीबाट प्लेन टिकट काट्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद रकम पाउन सक्ने कम्पनीले जनाएको छ । यसैगरी, यस वालेटले पनि क्यास ब्याक लगायत विभिन्न योजना ल्याएको छ ।

प्रभु पेले वालेटबाट कारोबार गर्दा टपअप जित्न सकिने अफर ल्याएको छ । यसमा केही भाग्यशाली ग्राहकले रकम प्राप्त गर्न सक्नेछन् । वालेटलाई बैंक खातासँग लिंक गर्दा पनि ग्राहकले १०० रुपैयाँ रकम पाउने कम्पनीले जनाएको छ ।

नमस्ते पे डिजिटल वालेटले सीजी नेटको बिल भुक्तानी गर्दा शतप्रतिशत सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने योजना ल्याएको छ । यस वालेटले व्यवसाय विस्तार गर्न क्यूआर गर्दा क्यास ब्याकदेखि कारोबारमा सेवा ग्राहीले विभिन्न उपहार पाउनेसम्मका अफर सार्वजनिक गरेको छ ।

 

सेयर बजारमा उछाल, सूचक २ हजार माथि उक्लियो Read Previous

सेयर बजारमा उछाल, सूचक २ हजार माथि उक्लियो

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन Read Next

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन